काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को पार्टी केन्द्रीय कमिटीको बाह्रौं बैठकको सन्दर्भमा आज चियापान तथा अनौपचारिक भेटघाट कार्यक्रम आयोजना गरिएको छ ।
प्रधानमन्त्री निवास, बालुवाटारमा विहान ११ः०० बजेपछि हुने गरी चियापान कार्यक्रम आयोजना गरिएको हो ।
नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी भित्रको विवाद न्युनिकरण गर्ने रणनीति अनुसार चियापानको आयोजना गर्नु भएको जनाइएको छ ।
कार्यक्रममा नेकपाकै नेपाल खनाल पक्षले भने सहभागी नहुने जनाएका छन् । प्रधानमन्त्री ओलीले गत २८ गते आफु पक्षका नेताहरुलाई मात्रै बोलाएर जिम्मेबारी खारेज तथा हेरफेर गर्ने, महाधिवेशनको मिति तोक्ने लगायतका निर्णयहरु गरेकाले उनीहरु असन्तुष्ट भएका हुन । असुन्तुष्ट पक्षले फागुन २८ गतेको निर्णय फिर्ता नहुदाँ सम्म कुनै सहमती र सहकार्य हुन नसक्ने अडान लिएका छन् । उनीहरुले भोली र पर्सी काठमाडौमा आफु पक्षीय नेता कार्यकर्ताहरुको राष्ट्रिय भेला समेत आयोजना गरेका छन् ।
यसैबीच, नेपाल कम्युनिस्ट पार्टी (एमाले)को बामदेव गौतम पक्षका नेता कार्यकर्ताहरूको भेला जम्मा तथा छलफल कार्यक्रम पनि आज आयोजना गरिएको छ ।
पार्टीमा तेस्रो धारको रुपमा सक्रिय गौतम पक्षीय नेताहरुको भेला सिद्धि गणेश पार्टी प्यालेस, बल्खुमा ११ बजे नै आयोजना गरिएको हो ।
भेलामा पार्टी भित्रको ध्रुविकरण र विवादलाई न्युनिकरण गर्ने उपाय र आफ्नो समूहको भूमिकाको बारेमा छलफल हुने नेताहरुले जानकारी दिएका छन् ।