Nov 06 2026 | २०८३, कार्तिक २१ गते

२०८३, कार्तिक २१ गते
  • यो साता चर्चामा :
images

फागुन २८ मा अड्कियो एमाले विवादको गाँठो

फागुन २८ मा अड्कियो एमाले विवादको गाँठो

एक्लौटी निर्णय फिर्ता लिन माधव समूहको आग्रह, निर्णयबाट पछि नहट्ने संस्थापन पक्षको अडान
  • सोमवार, चैत्र २ २०७७

  • 593
    SHARES

  • फागुन २८ मा अड्कियो एमाले विवादको गाँठो

    काठमाडौँ । सत्तारुढ नेकपा एमालेको संस्थापन पक्ष र असन्तुष्ट पक्षबीच आज पार्टी मुख्यलय धुम्बाराहीमा भएको वार्ता बिनानिष्कर्ष सकिएको छ । दुवै पक्ष आ–आफ्नो अडानबाट पछि नहट्दा छलफल निष्कर्षमा पुग्न नसकेको हो । प्रतिनिधि सभा विघटनसँगै साविकको नेकपामा विवाद जारी रहेकै बेला सर्वोच्च आदालतले माओवादी केन्द्र र एमाले बिचको एकतालाई नै खारेज गरेपछि अहिले दुवै पार्टी पूर्ववत् अवस्थामा फर्किएका छन् ।

    साविकको नेकपा विभाजित हुँदा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध खह्रो रुपमा उत्रिएका माधव नेपाल तथा झलनाथ खनाल समूह सर्वोच्चले नेकपा खारेज गरेसँगै बाध्य भएर एमालेमै फर्किएका छन् । पार्टीमा फर्किएपछि पनि अध्यक्ष ओलीले आफूनिकटका नेताहरुलाई मात्र बैठकमा बोलाएर विभिन्न पार्टीविपरितका निर्णय गरेको भन्दै नेपाल पक्ष झन् रुष्ट भएको हो ।

    यही बिचमा आज भएको वार्ताले विवादबारे कुनै दिशा तय गर्न सकेन । सर्वोच्चले पार्टीलाई तीन वर्ष पहिलेको अवस्थामा पु¥याएकोले त्यही विन्दुबाट अब पार्टीलाई अघि बढाउनुपर्ने नेपाल पक्षको माग छ । आजको वार्ता सौहार्दपूर्ण भए पनि निष्कषर्मा पुग्न नसकेको वरिष्ठ नेता नेपालको भनाइ छ । अन्य कुराहरु राम्रो र सकारात्मक भए पनि फागुन २८ गतेको बैठकले गरेका निर्णयबारे कुरा नमिलेको नेता नेपालले बताउनुभयो ।

    आफूहरुको मागप्रति पार्टी अध्यक्ष ओलीले नै सकरात्मक नहुँदा विवाद समाधानको विन्दु नभेटिएको नेता भीम रावलको तर्क छ । ओली पक्षलाई २८ गते गरेको निर्णय पार्टीको विधि, विधान र प्रणाली विपरित रहेकाले त्यो निर्णय फिर्ता लिन आग्रह गरेपनि उक्त निर्णय फिर्ता गर्न तयार नहुँदा विवादले निकास नपाएको रावल बताउनुहुन्छ ।

    अध्यक्ष ओलीले बालुवाटारमा २८ गते विशेष बैठक राखेर माओवादीतर्फका २३ जना नेतालाई केन्द्रीय सदस्यमा मनोनित गर्नुका साथै केही नेताहरूको जिम्मेवारी हेरफेर गर्नुभएको थियो । त्यसप्रति माधव पक्षले असन्तुष्टि जनाउँदै आएको छ ।

    यता, संस्थापन पक्षका नेता प्रदीप ज्ञवालीले भने पार्टीभित्रका अन्तरविरोधहरुलाई समाधान गर्दै जाने र सम्पूर्ण वामपन्थीलाई एकतामा जोड्दै अघि बढ्ने विषयमा पार्टीका सम्पूर्ण नेताहरु एक रहेको बताउनुभयो । यद्यपि उहाँले आफूहरु फागुन २८ को निर्णयबाट भने पछि हट्न नचाहेको स्वीकार्नुभयो ।

    परराष्ट्रमन्त्रीसमेत रहनुभएका नेता ज्ञवालीले आगामी दिनमा पार्टीको अन्तर्विरोधलाई समाधानका लागि आजको बैठकलाई सुरुवात भन्दै अनौपचारिक छलफललाई निरन्तरता दिइने स्पष्ट पार्नुभएको छ ।

    उपप्रधानमन्त्रीसमेत रहनुभएका ओली पक्षकै अर्को नेता ईश्वर पोखरेलले सर्वोच्चको निर्णयपछि एमालेले पुनर्जीवन प्राप्त गरेको भन्दै पार्टीलाई एकतावद्ध भएर कसरी जाने भन्ने बिषयमा सकारात्मक छलफल भएको बताउनुभयो । एकतावद्ध भएर जाने नै छलफलको साझा निष्कर्ष रहेको नेता पोखरेलले सुनाउनुभयो ।

    संस्थापन पक्षले असन्तुष्ट पक्षद्वारा चैत ४ र ५ गते बोलाइएको भेला स्थगित गर्न पनि आग्रह गरेको छ । अध्यक्ष ओलीले पार्टीभित्र एकलौटी गर्न खोजेपछि नेपाल समूह असन्तुष्ट छ । पार्टीभित्रको विवादको कारण एमाले फुटको अवस्थामा पुगेका बेला अध्यक्ष ओलीकै पहलमा संवादको थालनी गरिएको हो ।

    तर दुवै पक्ष आ–आफ्नो अडानबाट पछि नहटेपछि एमालेभित्रको विवादले तत्काललाई निकास नपाउने देखिएको छ ।


    सोमवार, चैत्र २ २०७७०८:११:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij