Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images
देउवाले गरे विशेष घोषणा

जसपाले ओली सरकारलाई समर्थन दिने सम्भावना घट्यो

जसपाले ओली सरकारलाई समर्थन दिने सम्भावना घट्यो

  • आइतवार, चैत्र १ २०७७

  • 1.2K
    SHARES

  • जसपाले ओली सरकारलाई समर्थन दिने सम्भावना घट्यो

    काठमाडौँ – राष्ट्रिय जनता पार्टीले केपी शर्मा ओली नेतृत्वको एमाले सरकारलाई समर्थन गर्ने सम्भावना कम हुँदै गएको छ।

    एमालेभित्र विभाजनको स्पष्ट संकेत देखिएका बेला अब ओली नेतृत्वको वर्तमान सरकारलाई समर्थन गर्नुको औचित्य नरहने जसपाका नेताहरु बताउन थालेका छन्।

    भावी सरकार निर्माणमा निर्णायक जस्तै देखिएको जसपाले एमालेसँग सत्ता सहकार्य गर्ने सम्भावना कम हुँदै गएपछि ओली सरकार ढल्ने सम्भावना बढेर गएको छ।

    एमालेमा विभाजनको संकेत देखिएकोले सरकारलाई समर्थन जनाउनुको कुनै औचित्य नरहने जसपा नेता केशव झाले बताउनुभयो।

    जसपाले समर्थन गरे पनि सरकार अघि बढ्न सक्ने सम्भावना नभएपछि कांग्रेस र माओवादी केन्द्रसँग मिलेर नयाँ सरकार गठन हुने सम्भावना बढेको उहाँको आशय छ।

    एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वकै सरकारमा सहभागी हुने कि एमाले इतरको सरकार बनाउने भन्नेमा जसपा विभाजित छ।

    नेताहरु महन्थ ठाकुर र राजेन्द्र महतो ओली नेतृत्वकै सरकारमा सहभागी हुन उपयुक्त हुने अडानमा छन् भने बाबुराम भट्टराई र उपेन्द्र यादवले एमाले बाहेकको सरकार बनाउनुपर्ने अडान लिएका छन्।

    तर एमालेमा शुक्रबारको घटनापछि ओली नेतृत्वको सरकारमा जसपा सहभागी हुने सम्भावना कम बनेको हो। अब जसपा, माओवादी केन्द्र र कांग्रेसले मिलेर नयाँ सरकार गठन गर्ने सम्भावना बलियो बनेको चर्चा भइरहेको छ।

    कांग्रेस सभापति शेरबहादुर देउवाले मुलुक अप्ठेरोमा परेका बेला कांग्रेसले नेतृत्व लिने परम्परा नै स्थापित भइसकेको बताएर छिट्टै आफ्नो नेतृत्वमा सरकार गठन हुने जनाउ दिनुभएको छ।

    आज बारामा आयोजित कार्यक्रममा देउवाले जब जब देशलाई संकट पर्छ तब तब कांग्रेसले सरकारको नेतृत्व गरेर निकास दिएको इतिहास रहेको बताउनुभयो ।

    जसपाका नेताहरुले एमालेसँग मिलेर जाने सम्भावना कम हुँदै गएको र कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व लिन तयार रहेको एकै दिन बताउनुलाई जसपा, कांग्रेस र माओवादी केन्द्रबीच सत्तासहकार्यको सहमति भइसकेको रुपमा अर्थ लगाउन थालिएको छ।

    कांग्रेसका एक शीर्ष तहका नेताले देउवाको नेतृत्वमा नयाँ सरकार गठनबारे सोमबार अन्तिम सहमति हुने सम्भावना बढेको बताउनुभयो।

    यसैबीच माओवादी केन्द्रले सरकारमा रहेका पूर्व माओवादी नेताहरुलाई फिर्ता बोलाउने निर्णय केन्द्रीय कमिटि बैठकबाट पनि अनुमोदन गरेको छ।

    नेता नारायणकाजी श्रेष्ठले माओवादी केन्द्रबाट मन्त्री भएकाहरुलाई फिर्ता बोलाउने र पार्टी त्याग गरेर अन्य पार्टीमा गएकाहरुलाई स्पष्टीकरण सोध्ने निर्णय आजको बैठकले अनुमोदन गरेको बताउनुभयो।

    तर सरकारमा सहभागी रहेका पूर्व माओवादी नेताहरुले भने आफूहरुलाई फिर्ता बोलाउने भनि गरिएको निर्णयलाई हास्यास्पद भनेका छन्।

    खानेपानी मन्त्री मणि थापाले आफूहरु माओवादी केन्द्रबाट नभई नेपाल कम्युनिष्ट पार्टी नेकपाबाट सरकारमा सहभागी भएको बताउनुभयो।

    उहाँले आफूहरुलाई माओवादी केन्द्रले फिर्ता बोलाउनु असंगतियुक्त कुरा भएको बताउनुभयो।

    यसैबीच माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालसँग आज भेटवार्ता गर्नुभएको छ।

    माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ समेत सहभागी रहेको यो भेटवार्तामा सत्तासमीकरणबारे महत्वपूर्ण छलफल भएको बताइएको छ।

    एमालेभित्र प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली समूहले खनाल–नेपाल पक्षीय नेताहरुको जिम्मेवारी खोसेपछि उनीहरु आक्रोशित बनेका छन्।

    ओली समूहको निर्णय खारेज गर्नुपर्ने माग राख्दै खनाल–नेपालले निर्वाचन आयोगलाई पत्र समेत लेखेका छन्।


    आइतवार, चैत्र १ २०७७०८:१३:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij