काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यसमिति बैठक आइतबार (आज) बस्दै छ ।
बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्न लागेको बताइएको छ ।
बैठकमा एमालेमा लागेका नेताहरूलाई कारबाही, सत्ता समीकरण, सरकारलाई दिएको समर्थन र पार्टीको आगामी रणनीतिबारे छलफल गर्ने कार्यतालिका रहेको नेताहरुले बताएका छन् ।
माओवादीको शनिबार (हिजो) बसेको स्थायी समिति बैठकले आज केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको थियो ।
स्थायी समिति बैठकले सरकारमा रहेका ७ मन्त्रीलाई फिर्ता बोलाउने र एमालेमा गएका २३ नेतालाई स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो ।
व्यक्तिगत रूपमा नेताहरूलाई सोधिएको स्पष्टिकरण सरकारी कार्यालय शनिबार (हिजो) बन्द रहेको हुँदा आज पठाइने भएको छ ।
माओवादीबाट अहिले गृहमन्त्री रामबहादुर थापा, उद्योग वाणिज्यमन्त्री लेखराज भट्ट, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, खानेपानीमन्त्री मणि थापा, सिँचाइमन्त्री प्रभु साह, खेलकुदमन्त्री दावा लामा र श्रम मन्त्री गौरीशंकर चौधरी छन् ।
एमालेका अध्यक्ष केपी शर्मा ओलीले थापासहित २३ नेतालाई शुक्रबार केन्द्रीय सदस्य मनोनित गर्नुभएको थियो । एमाले केन्द्रीय सदस्यमा मनोनित भएका ती नेताहरूलाई दल त्याग गरेका हुन् वा होइनन् स्पष्ट पार्न स्पष्टिकरण पत्रमा भनिएको केन्द्रीय कार्यालयले जानकारी दिएको छ ।
उनीहरूले चित्तबुझ्दो जवाफ नदिएमा आजबाट सुरु हुने केन्द्रीय समिति बैठकबाट कारबाही गर्ने तयारी माओवादीको छ ।
माओवादीले कारबाही ग¥यो भने उनीहरुको सांसद पद पनि स्वतः जाने कानुनी व्यवस्था छ ।
एमाले अध्यक्ष ओलीले माओवादीका नेताहरू गृहमन्त्रीसमेत रहेका थापा बागमती प्रदेश र भट्टलाई सुदूरपश्चिम प्रदेश इन्चार्जको जिम्मेवारी दिइसक्नुभएको छ ।