Nov 06 2026 | २०८३, कार्तिक २१ गते

२०८३, कार्तिक २१ गते
  • यो साता चर्चामा :
images
राजनीतिक सकस

जसपाको अस्पष्टताले मुलुकको राजनीति नै अन्योलमा

जसपाको अस्पष्टताले मुलुकको राजनीति नै अन्योलमा

  • शनिवार, फाल्गुण २९ २०७७

  • 694
    SHARES

  • जसपाको अस्पष्टताले मुलुकको राजनीति नै अन्योलमा

    काठमाडौँ । सत्तासीन र विपक्षी दलको तानातानमा परेको जनता समाजवादी पार्टी (जसपा) अनिर्णयको बन्दी हुँदा मुलुकले आगामी राजनीतिक बाटो कस्तो तय गर्ला भन्नेबारे अन्योल बढ्दै गएको छ । सत्तारुढ नेकपा एमालेलाई समर्थन गर्ने कि अन्य दलहरु नेपाली कांग्रेस र माओवादी केन्द्रसँग मिलेर नयाँ सरकार बनाउने भन्ने बिषयमा जसपाले निर्णय लिन नसक्दा थप अन्योल सिर्जना भएको हो ।

    बिषेशगरी नेकपा एमाले र माओवादी केन्द्रको तानातानमा परेको जसपा कसैको पक्षमा नखुल्दा नयाँ सरकार गठन हुने वा वर्तमान सरकारले नै निरन्तरता पाउने भन्ने अन्योल कायमै छ । सर्वोच्च अदालते एमाले र माओवादीको एकता भंग गरेसँगै संसदमा शक्तिशाली दलको नेता बन्न पुग्नुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता सहकार्यका लागि जसपाकै साथ खोजिरहनुभएका छ ।

    यता, माओवादी केन्द्रले पनि ओली नेतृत्वको सरकार ढाल्न कांग्रेससँगै जसपाको पनि साथ आवश्यक रहेकोले वार्ता जारी राखेको छ । तर दुवै पक्षसँगको वार्तासमा सहभागी हुँदै आएको जसपाले भने अहिलेसम्म कुन पक्षलाई समर्थन गर्न भनेर निक्र्यौल गरिसकेको छैन ।

    पार्टीका नेताहरु वैचारिक रुपमा दुई धारमा विभाजित हुँदा यस्तो अवस्था सिर्जना भएको हो । पार्टीका तीन अध्यक्षमध्ये कम्युनिष्ट विचारधाराका डा. बाबुराम भट्टराई र उपेन्द्र यादवले प्रतिगामी ओलीसँग कुनै पनि हालतमा सत्ता सहकार्य नहुने बताउँदै आएका छन् भने प्रजातान्त्रिक धारका अर्का अध्यक्ष महन्थ ठाकुर ओलीलाई सथर्मन गर्नुपर्ने पक्षमा हुनुहुन्छ ।

    सत्ता समिकरण प्रधानमन्त्री ओलीसँगै हुने जसपामा अध्यक्ष ठाकुर पक्षका नेता लक्ष्मणलाल कर्णको संकेत छ । अहिले सबै पार्टीसँग छलफल चलिरहेको र प्रधानमन्त्री आफूहरुको माग पूरा गर्न तयार रहेको बताउँदै ओलीलाई नै साथ दिने उहाँले संकेत गर्नुभयो ।

    गत बैशाख १० मा एकीकृत भएर कानूनी रुपमा एक भएपनि जसपाका नेताहरुबीच वैचारिक मतैक्यता भने देखिएको छ । तत्कालिन राजपा प्रधानमन्त्री ओली समूहलाई नै समर्थन गरेर अघि बढ्ने तयारीमा छ भने तत्कालिन समाजवादी पार्टी एमालेबाहेकका दलहरुसँग मिलेर नयाँ सरकार गठन गर्नुपर्ने पक्षमा छ ।

    हतारमा सरकारमा सहभागी नहुने बताउँदै आएको प्रमुख विपक्षी कांग्रेसले पनि अहिले भने नयाँ सरकार गठनमा तदारुक्ता देखाउन थालेको छ । पार्टी सभापति शेरबहादुर देउवा सरकारको नेतृत्व लिन अब अग्रसर हुनुपर्नेमा पार्टीका नेताहरू सहमत देखिएका छन् । पर्ख र हेरको अवस्थामा रहेको कांग्रेस वर्तमान ओली नेतृत्वको सरकारको विकल्प खोज्नुपर्ने कांग्रेस महामन्त्री शशांक कोइराला बताउनुहुन्छ ।

    राजनीतिक निकासका लागि कांग्रेस नेतृत्व अपरिहार्य रहेको नेताहरु बताउँछन् । ओलीले संविधानमा भ्वाङ पार्ने काम मात्र गरेको भन्दै ओलीलाई चाँडो विदा गरेर कांग्रेसको नेतृत्वमा सरकार बनाउनुपर्ने केन्द्रीय सदस्य गगन थापाको भनाइ छ । सर्वोच्चको आदेशपछि नेकपाले पाएको जनमत खारेज भएकोले अब यस्तो अवस्थामा मुलुकलाई निकास दिने दायित्व कांग्रेसको काँधमा आएको उहाँ बताउनुहुन्छ ।

    विभिन्न माग राखेर कहिले सरकारसँग त कहिले अन्य दलहरुसँग निरन्तर वार्तामा रहेको जसपाले अहिलेसम्म ठोस निर्णय गर्न सकेको छैन । जसपाले साथ दिएमा असन्तुष्ट माधव पक्षलाई ह्वीप लगाएर भएपनि आफू नेतृत्वको सरकार टिकाइराख्ने प्रधानमन्त्री ओलीको योजना रहेको विश्लेषकहरुको बताउँछन् ।

    सत्ता समिकरणका लागि माओवादी केन्द्र र कांग्रेसबीच सहकार्य भएपनि त्यो नयाँ सरकार बन्नको लागि पर्याप्त हुँदैन । त्यसका लागि जसपाको साथ अनिवार्य छ । तर सरकार गठनमा कुन पक्षलाई साथ दिने भन्नेमा जसपा प्रष्ट नहुँदा अब मुलुकको राजनीतिले कुन बाटो तय गर्ला भन्ने अन्योल कायमै छ ।


    शनिवार, फाल्गुण २९ २०७७०८:०३:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij