काठमाडौं । पार्टी विधानको व्यवस्था र आचारसंहिता विपरित पार्टीका विभागमा नियुक्ति भइरहेको भन्दै कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले आपत्ति जनाएको छ । आसन्न महाधिवेशनलाई प्रभावित पार्न सभापति शेरबहादुर देउवाले यस्तो कदम चालेको भन्दै पौडेल पक्षले आपत्ति जनाएको हो ।
पौडेल, महामन्त्री सशांक कोइराला र कोषाध्यक्ष सीतादेवी यादवले निर्वाचन समितिलाई सम्बोधन गर्दै बिहीबार संयुक्त हस्ताक्षरसहितको पत्र निर्वाचन समितिलाई बुझाएका छन् । सभापति देउवालाई बोधार्थ पठाइएको पत्रमा विभागहरुमा भइरहेका नियुक्ति तत्काल रोक्न र यसअघि भइसकेकाहरुको बदर गर्न माग गरिएको छ ।
पार्टी विधानमा सबै तहमा गठन गर्ने भनिएका विभाग, समिति, विभिन्न निकायहरु महाधिवेशन सम्पन्न भएको ६ महिनाभित्र गठन गरिसक्नुपर्ने उल्लेख छ । १३ औं महाधिवशेनबाट सभापति निर्वाचित भएका देउवाले यी काम ६ महिनाभित्रै पूरा गर्नुपर्ने थियो ।
तर, उहाँले कार्यकाल सकिएपछि विभागहरुमा नियुक्ति गर्नुभएको थियो । पौडेल पक्षले विरोध गरेपछि उहाँले आफ्ना समूहका सदस्यहरुलाई राखेर एकलौटी रुपमा विभाग गठन गर्नुभएको थियो ।