काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेको माधव नेपाल समूहले पार्टी कब्जा गर्ने अन्यथा विद्रोह गरेर आफूहरुसँग फेरि एकता गर्न आउने भनी भविष्यवाणी गरैक दिन नेकपा एमालेमा औपचारिक रुपमा विग्रहको बिउँ रोपिएको छ।
प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले माधव कुमार नेपाल समूहमा रहेका नेताहरुको जिम्मेबारी खोसेपछि एमालेमा विग्रहको बिउँ रोपिएको टिप्पणीहरु भइरहेका छन्।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले शुक्रबार बिहान बुटवलमा आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रममा एमालेको माधव नेपाल समूह आफूहरुसँग फेरि एकता गर्न आउने दाबी गर्नुभएको थियो।
माधव समूहले सके एमाले कब्जा गर्ने र ओलीलाई हटाउने अन्यथा विद्रोह गरेर आफूहरुसँग एकतावद्ध हुन आउने प्रचण्डको दाबी थियो।
वैचारिक मतभिन्नताहरुले जरा गाडिसकेकाले एमाले एकजुट भएर जान सजिलो नरहेको बताउँदै प्रचण्डले एकताका लागि लगातार बहसहरु भइरहेको समेत बताउनुभएको थियो।
प्रचण्डले यस्तो भविष्यवाणी गरेकै दिन अध्यक्ष ओलीले आज छापामार शैलीमा एमालेको केन्द्रीय समिति बैठक डाकेर नेपाल समूहका नेताहरुको जिम्मेबारी खोस्नुका साथै अन्य महत्वपूर्ण निर्णय लिनुभएको छ।
आफ्नो समूहमा रहेका कतिपय केन्द्रीय सदस्यहरुलाई समेत थाहा नदिइ बसेको बैठकमार्फत ओलीले पूर्व माओवादी केन्द्रबाट आफ्नो पक्षमा खुलेका रामबहादुर थापा र लेखराज भट्टलाई क्रमशः बागमती र सुदूरपश्चिम प्रदेश इन्चार्ज बनाउने निर्णय गर्नुभएको छ।
यसअघि एमालेको बागमती प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्य र सुदूरपश्चि इन्चार्ज भीम रावल रहनुभएको थियो। यस्तै बैठकले पार्टीमा रहेको अध्यक्ष र महासचिवबाहेकका सबै पद खारेज गर्ने निर्णय पनि गरेको बताइएको छ।
छापामार शैलीमा ओलीले लिएका यी कदमलाई माधव नेपाल समूहमा रहेका नेताहरुले एमाले विभाजनको पूर्व संकेतका रुपमा लिएका छन्।
माधव समूहका नेता रघुजी पन्तले ओलीले लिएको आजको कदम वामपन्थी आन्दोलनका लागि दूर्भाग्यपूर्ण रहेको बताउनुभयो ।
तर एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले नवौं महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरुको पद यथावत रहेको प्रष्ट पार्नुभएको छ।
महाधिवेशन आयोजक समिति गठन गर्दा पदाधिकारी नरहने भए पनि अहिलेसम्म सबै पदाधिकारी यथावत रहेको ज्ञवालीले बताउनभयो।
पार्टी एकता प्रक्रियामा माओवादी केन्द्रबाट आएका नेताहरुको व्यवस्थापन नगरि नियमित बैठकमा जान नमिल्ने र प्रचण्ड छाडेर आएका नेताहरुले पनि आफूहरुलाई अध्यक्ष केपी ओलीले आह्वान गर्नुपर्ने भनेको सन्दर्भमा आज विशेष बैठकले सहज वातावरण बनाइदिएको ज्ञवालीले दाबी गर्नुभयो।
तर ओली समूहका नेता सत्यनारायण मण्डलले भने प्रधानमन्त्रीविरुद्ध लागेका नेताहरुलाई आजको बैठकले कारबाही गरेको बताउनुभयो।
संसदमा उभिएर प्रधानमन्त्रीलाई तपाईँ कुन पार्टीको हो भनेर प्रश्न गर्नेहरुलाई जिम्मेबारीबाट हटाइएको नेता मण्डलले बताउनुभयो।
उहाँले केपी ओलीलाई विभाजनकारीको भनेर लगाइएको आरोपको पनि खण्डन गर्नुभयो।
यसैबीच नेकपा एमालेको माधव नेपाल समूहको स्थायी कमिटीको आकस्मिक बैठक अहिले बसिरहेको छ।
अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार महासचिवबाहेकका पदाधिकारीहरु हटाउने, आफ्ना समूहका नेताहरुको जिम्मेवारी खोस्ने र एकतर्फी रुपमा गरेको महाधिवेशनको मिति घोषणापछि नेपाल समूहको आकस्मिक स्थायी कमिटी बैठक अहिले बसिरहेको हो।