काठमाडौँ । संसद विघटन गरेर घोषणा गरिएको मध्यावधि चुनावको धङधङी नेताहरुमा अहिले पनि उस्तै देखिएको छ । विशेषगरी दोस्रो तहका नेताहरुले विभिन्न सार्वजनिक कार्यक्रममा निर्वाचनको पक्षमा अभिव्यक्ति दिँदै आएका छन् । जुनसुकै बेला फेरि निर्वाचको मिति घोषणा हुन सक्ने र अब निर्वाचनको विकल्प नभएको नेताहरुको भनाइ छ ।
संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम सर्वोच्च अदालतले असंवैधानिक ठहर गर्दै प्रतिनिधि सभा पुनस्र्थापना गरेपछि दुई वटा बैठकसमेत सम्पन्न भइसकेका छन् । तर, बैठकमा कुनै पनि महत्पूर्ण बिषयमा छलफल र निर्णय हुन नसकेकोतर्फ संकेत गर्दै नेताहरुले निर्वाचनबाटै यसको निकास निकाल्नुपर्ने भन्दै आएका छन् ।
हुन पनि संसद पुनस्र्थापनापछिको २३ फागुनमा बसेको पहिलो पटक बैठक नै सरकारले विवादित संवैधानिक परिषदसम्बन्धि विधेयक पेश गर्न खोजेपछि असामान्य बन्यो । माओवादी केन्द्र र एमालेको माधव नेपाल समूहले बहिस्कार गरे भने प्रमुख विपक्षी नेपाली कांग्रेस र जसपाको सांसदहरुले नाराबाजी गर्दै राष्ट्रम घेराउ गरेका थिए ।
त्यपछि २६ गते बसेको अर्को बैठकमा पनि सांसदहरुको निधनप्रति शोकप्रस्ताव पारितबाहेक अरु केही हुन सकेन । संसद सहज रुपमा चल्न नसक्ने अवस्थाकैबीच एमाले ओली समूहका नेताहरुले मध्यावधि निर्वाचनको धङधङी सार्वजनिक कार्यक्रममार्फत व्यक्त गरिरहेका छन् ।
उपप्रधानमन्त्री समेत रहेका एमालेका महासचिव ईश्वर पोखरेलले विद्यमान राजनीतिक अवस्थाको अन्त्य र संसदमा देखिएका बेथितिको एकमात्र विकल्प निर्वाचन नै भएको बताएका छन् ।
आज वीरगंजमा आयोजित कार्यक्रममा उनले प्रतिनिधिसभामा दलहरुबीच समन्वय भई प्रक्रिया सामान्य ढङ्गले अगाडि नबढे ताजा जनादेशमै जानुपर्नेमा जोड दिएका छन् ।
त्यसैगरी शिक्षामन्त्रीसमेत रहेका एमालेका अर्का नेता कृष्णगोपाल श्रेष्ठले पनि निर्वाचन नै अबको निकास रहेको बताएका छन् । मंगलबार जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडको अनुगमनमा पुगेका मन्त्री श्रेष्ठले मतपत्र छाप्न तयारी अवस्थामा रहन केन्द्रलाई भनेका थिए । निर्वाचनका लागि कुनैपनि बेला मतपत्र छाप्न निर्देशन आउने भन्दै उनले त्यसको लागि तयारी रहन जनक शिक्षा केन्द्रलाई आग्रह नै गरेका थिए ।
एमाले नेताहरुको बोलीमा लोली मिलाउँदै कांग्रेसका नेताहरुले पनि निर्वाचनले नै अब निकास दिने बताउँदै आएका छन् । दलहरुबीचको किचलोकै कारण अब संसद सहज रुपमा चल्न नसक्ने भन्दै यो परिस्थितिबाट पार पाउन निर्वाचबाहेक अर्को बोटो नभएको कांग्रेस नेता डा. शेखर कोइराला बताउनुहुन्छ ।
अन्य दलहरुको प्रतिक्षा निवार्चन नभएपनि एमाले ओली समूह र कांग्रेसका नेताहरुबीच भित्रि साँठगाँठ रहेको देखिएको राजनीतिक विश्लेषक श्याम श्रेष्ठको भनाइ छ ।
सहज रुपमा सरकार बन्ने अवस्था भएपनि सरकार गठन हुन नसक्ने स्थिति सिर्जना गरेर प्रधानमन्त्री ओलीले देशलाई फेरि निर्वाचनतिरै धकेल्न सक्ने श्रेष्ठको विश्लेषण छ ।
नयाँ सरकार बन्न सक्ने अहिलेको अवस्था भएपनि कांग्रेसको चाहना पनि निर्वाचन हुँदा त्यो सफल हुन नसक्ने विश्लेषक श्रेष्ठको आंकलन छ । देशको आवश्यक्ता निर्वाचन नभएपनि कांग्रेस र एमाले ओली पक्ष निर्वाचनकै आन्तरिक तयारीमा रहेका श्रेष्ठ बताउनुहुन्छ ।
सर्वोच्चले सत्तारुढ नेकपाको एकतालाई भङ्ग गरेर एमाले र माओवादी केन्द्रलाई पूर्ववत् अवस्थामा फर्काएपछि संसद अनिर्णयको बन्दी हुने भन्दै चिन्ता व्यक्त हुन थालेको हो भने यसको निकास निर्वाचन नै हो भन्ने बिषय उठ्न थालेको हो ।