काठमाडौं । नेपाली काँग्रेसका प्रभावशाली नेता रमेश लेखकले अब धेरै समय पार्टी पर्ख र हेरको नीतिमा नबस्ने बताउनुभएको छ ।
नेपाली रेडियो नेटर्वकको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता लेखकले भन्नुभयोे,“हिजोका दिनमा सत्ता सहकार्यका लागि काँग्रेससँग आग्रह गर्दा हामी पर्ख र हेरको नीतिमा बस्यौं, जुन आज सहि सावित भयो नि, पार्टीले दाहाल–नेपाल समूहसँग सहकार्य गरेर अघि बढेको भए आज काँग्रेसलाई धोका हुन्थ्यो, पार्टी सोच विचारका साथ निर्णय लिन्छ ।”
अहिले ओली र दाहाल–नेपाल समूहको राजनीतिक अवस्था स्पष्ट भएकाले काँग्रेस अब छिट्टै उचित निर्णय गर्ने उहाँले दावी गर्नुभयो ।
ओली र दाहाल–नेपालको झगडा सडकबाट सदनमा पुगेकाले अब कम्युनिस्टको सरकारले जनताका माग पूरा गर्ने सम्भावना न्यून रहेको नेता लेखकले जानकारी दिनुभयो ।
मुलुक निर्वाचनको माहोलमा जाने संकेत देखिएकाले काँग्रेस चुनावका लागि तयार रहनुपर्ने उहाँको धारणा छ ।