Nov 06 2026 | २०८३, कार्तिक २१ गते

२०८३, कार्तिक २१ गते
  • यो साता चर्चामा :
images

सरकार ढाल्न खोज्नेलाई ठेगान लगाइदिने प्रधानमन्त्री ओलीको चेतावनी

सरकार ढाल्न खोज्नेलाई ठेगान लगाइदिने प्रधानमन्त्री ओलीको चेतावनी

माधव भन्छन् ‘ओलीका फुर्ती देखाउने दिन गए’
  • शनिवार, फाल्गुण २२ २०७७

  • 698
    SHARES

  • सरकार ढाल्न खोज्नेलाई ठेगान लगाइदिने प्रधानमन्त्री ओलीको चेतावनी

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई प्रधानमन्त्रीबाट हटाउन खोज्नेलाई ठेगान लगाइदिने चेतावनी दिनुभएको छ । नेकपाको प्रचण्ड–माधव समूहले नैतिकता छ भने राजीनामा दिन दबाब दिइरहेका बेला प्रधानमन्त्री ओलीले राजीनामा नदिने र अन्य प्रक्रियाबाट हटाउन खोजे ठेगान लगाइदिने चेतावनी दिनुभएको हो ।

    नेपाली कांग्रेससँग मिलेर नेकपा दाहाल नेपाल समूहले प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने कसरत तीव्र पारेको छ । तर त्यसअघि नै राजीनामा दिएर नैतिकता प्रदर्शन गर्न ओलीलाई अन्तिम मौका आफूहरुले अझै पनि दिएको दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले बताउनुभयो ।

    केपी ओलीले फुर्ती लगाउने दिन अब सकिएको बताउँदै उहाँले नैतिकताको सानो अंश मात्रै पनि बाँकी भए राजीनामा दिन सुझाव दिनुभयो। तर प्रधानमन्त्री ओलीले राजीनामा नदिने र आफैले संसदमा विश्वासको मत पनि नलिने रणनीति तय गर्नुभएको छ ।

    विधि पद्धति अनुसार अविश्वासको प्रस्ताव आए सामना गर्ने ओलीको तयारी छ । आज आफ्नो समूहको संसदीय दलको बैठकमा ओलीले आफूहरुसँग बहुमत रहेकोले आत्तिन पर्ने अवस्था नरहेको बताएको प्रधानमन्त्री निकट सांसदहरुले बताएका छन् ।

    बैठकमा आज ११५ जना सांसदहरु सहभागी भएको र यो संख्या बढ्दै जाने भएकोले आफूहरु ढुक्क अवस्थामा रहेको ओलीले बताउनुभएको ती सांसदको भनाइ छ ।

    संसदमा अविश्वासको प्रस्ताव आयो भने डटेर सामना गर्ने र जित आफूहरुकै हुने ओलीले बताउनुभएको थियो । संसदीय दलको बैठकपछि काठमाडौँमा आयोजित एक कार्यक्रममा पनि प्रधानमन्त्री ओलीले आफूलाई हटाउन खोज्नेलाई ठेगान लगाइदिने चेतावनी दिनुभयो ।

    प्रधानमन्त्री ओलीको सिफारिसमा भएको संसद विघटनलाई सर्वोच्च अदालतले बदर गरेपछि पुनस्र्थापित प्रतिनिधिसभाको बैठक भोलि बोलाइएको छ । भोलिको बैठकमै प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने कसरतमा दाहाल–नेपाल समूह लागेको छ ।

    यो समूहले कांग्रेस सभापति शेरबहादुर देउवालाई भावी प्रधानमन्त्रीका रुपमा अघि सार्ने चर्चा छ । तर देउवाले भने अहिले आफू प्रधानमन्त्रीको दौडमा नरहेको बताएर राजनीतिलाई थप अनिश्चयमा पार्नुभएको छ । नेकपाको झगडामा आफूले फस्न नचाहेको बताउँदै देउवाले प्रधानमन्त्रीको दौडमा नरहेको स्पष्ट पार्नुभयो ।

    नेकपा कानूनी रुपमा एक रहँदासम्म प्रचण्ड–माधव समूहले प्रधानमन्त्री ओलीविरुद्ध संसदमा अविश्वासको प्रस्ताव ल्याउनै नसक्ने ओली समूहका नेताहरुको दाबी छ । तर नेकपा संसदीय दलको विधानअनुसार दलको नेताविरुद्ध अविश्वासको प्रस्ताव आएमा भने त्यसको सामना गर्न प्रधानमन्त्री ओली तयार रहेको उनीहरुले बताएका छन् ।


    शनिवार, फाल्गुण २२ २०७७०८:०४:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij