Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

विप्लवले किन दिए सरकारलाई यतिचाँडै दबाब ?

विप्लवले किन दिए सरकारलाई यतिचाँडै दबाब ?

  • शनिवार, फाल्गुण २२ २०७७

  • 1.4K
    SHARES

  • विप्लवले किन दिए सरकारलाई यतिचाँडै दबाब ?

    काठमाडौं । शान्तिपूर्ण राजनीतिमा आएको नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले आफूसँग भएको सम्झौता छिटोभन्दा छिटो कार्यान्वयन गर्न सरकारलाई दबाब दिनुभएको छ ।

    विप्लवले आफू सार्वजनिक भएको र सरकारसँग सहमति गरेको भोलिपल्ट आज गृहमन्त्री रामबहादुर थापालाई भेटेर खासगरी कारगारमा रहेका आफ्ना नेता तथा कार्यकर्ताहरुको रिहा र मुद्दा फिर्ताका लागि तदारुकता देखाउन दबाब दिनुभएको हो ।

    सरकारसँग भएको तीन बुँदे सहमति अक्षरश कार्यान्वयन गर्न ढिला गर्न नहुने भन्दै विप्लवले त्यसका लागि गृहमन्त्रीको ध्यानाकर्षण गराउनुभएको छ । गृहमन्त्रीका प्रेस संयोजक किरण भट्टराईले विप्लव र गृहमन्त्री बादलबीच पछिल्लो सम्झौता र आगामी राजनीतिक कोर्सबारे छलफल भएको पुष्टि गर्नुभएको हो ।

    भट्टराईका अनुसार सरकारसँग भएको शान्ति सम्झौता अनुसार आफ्ना नेता तथा कार्यकर्ताहरुको रिहा र मुद्दा फिर्तामा विप्लव केन्द्रित हुनुहुन्थ्यो । त्यसमा गृहमन्त्री थापाले पनि सरकारको प्रतिवद्धता अनुसार प्रक्रियागत ढंगबाट काम अघि बढाउने आश्वासन विप्लवलाई दिनुभएको छ ।

    सरकारसँगको तीनबुँदे सहमतिपछि शान्तिपूर्ण राजनीतिमा आउने गरी नेकपाका महासचिव विप्लव शुक्रबार सार्वजनिक हुनुभएको थियो ।

    यसैबीच, विप्लवले नख्खु कारागार पुगेर हेमन्तप्रकाश ओली ‘सुदर्शन’लाई भेट्नुभएको छ । आज विप्लव, खड्गबहादुर विश्वकर्मा र उदयबहादुर चलाउने सुदर्शनलाई भेट्न नख्खु कारागार पुगेका हुन् ।

    उनीहरुले कारागारमा रहेका समूहका अन्य कार्यकर्ताहरुसँग पनि भेट गरेका छन् । २०७५ चैतमा काभ्रेबाट पक्राउ परेका ओली नख्खुस्थित एनसेल कार्यालयको गेटमा भएको बम विस्फोटमा संलग्न भएको आरोपमा उनी पुर्पक्षका लागि थुनामा हुनुहुन्छ ।

     


    शनिवार, फाल्गुण २२ २०७७०३:५४:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij