काठमाडौँ । राजनीतिक रुपमा विभक्त भइसकेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष बामदेव गौतम एकताको पक्षमा जोड तोडका साथ लागिपरेका बेला दोस्रो तहका अन्य नेताले यसमा साथ दिन थालेका छन् । प्रतिनिधि सभा विघटनसँगै दुई चिरा भएको नेकपाका दुवै समूहका युवा नेताहरुले नेता गौतमको अभियानलाई अहिले होस्टेमा हैँसे थपेको देखिन्छ ।
प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड तथा माधव नेपाल दुई समूहमा नेकपा विभाजित हुँदा आ–आफ्नो लाइन समातेर बाँडिएका नेताहरु अहिले फेरि एकताको संभावनाका विन्दुहरु पहिल्याउनतिर उन्मुख देखिन्छन् ।
पछिल्लो केहीदिनयता ओली र प्रचण्ड–माधव दुवै समूहका दोस्रो तहका नेताहरुले एकअर्काबीचको भेटवार्तालाई जोड दिन थालेका छन् भने एकताका संभावना जीवित्तै रहेको अभिव्यक्ति दिन थालेका छन् ।
हिजो सिंहदरबारमा प्रचण्ड–माधव समूहका स्थायी कमिटी सदस्य घनश्याम भुसाल र ओली समूहका स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलबीच छलफल भएको थियो, भने हिजो नै ओली समूहका नेता महेश बस्नेतले निर्वाचन आयोगका प्रमुख आयुक्तलाई भेटेर आफूहरु एकताको प्रयासमा रहेकोले पार्टी फुटाउन हतार नगरिदिन आग्रह गर्नुभएको थियो ।
नेकपाको आधिकारिकता विवादलाई निकास दिन आयुक्तहरु छलफलमा जुटेका बेला हिजो नेता बस्नेतले आयोग पुरेर प्रमुख आयुक्त दिनेश थपलियासँग यस्तो आग्रह गर्नुभएको हो । आफूहरु एकता जोगाउन कै लागि लागिपरेको भन्दै सके तत्काल, नसके थाँती राखेरै भएपनि पार्टी विभाजन हुन नहुने पक्षमा रहेको नेता बस्नेत बताउनुहुन्छ । राजनीतिक रुपमा पार्टी पूरै फुटिसकेका कारण पुनः एकीकरणको काम कठिन भएपनि यो असम्भव भने नरहेको उहाँको भनाइ छ ।
शीर्ष नेताहरुले अब पार्टी एक हुन नसक्ने अभिव्यक्ति दिइरहेका बेला दोस्रो तहका युवा नेता भने एकताको संभावना जीवितै रहेको भन्दै लागिपरेका हुन् ।
आज ताप्लेजुङ पुगेर प्रचण्ड–माधव समूहका स्थायी कमिटी सदस्य योगेश भट्टराईले पनि विभाजित नेकपामा एकता प्रयास भइरहेको बताउनुभयो । प्रेस सङ्गठन ताप्लेजुङले आयोजना आज गरेको पत्रकार भेटघाट कार्यक्रमा उहाँले एकताका लागि उच्च पदका नेताले त्याग गर्न सक्नुपर्ने भन्दै एकता हुने सम्भावना जीवित रहेको बताउनुभयो ।
नेकपा एकता अभियान नै घोषणा गरेर विभाजित नेकपालाई एक बनाउने प्रयत्नमा लाग्नुभएका पार्टी उपाध्यक्ष गौतमले पनि एकता असम्भव नरहेको बताउँदै आउनुभएको छ । उहाँले पार्टी एकताका लागि केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई घेराबन्दी गर्ने बताउनुभएको छ ।
नेकपाका दुवै समूहका दोस्रो तहका नेताहरुसँग मिलेर ओली र प्रचण्डलाई चौतर्फी घेराबन्दी गर्न सके एकता सम्भव हुने नेता गौतमको धारणा छ ।
नेकपा दोस्रो तहका नेताहरु प्रत्यक्ष वा परोक्ष ढंगबाट एकताको प्रयासमा जुट्न थालेका बेला राजनीतिक विश्लेषकले भने यो असम्भव रहेको औल्याएका छन् । दोस्रो तहका नेताहरु एकताको पक्षमा रहेपनि शीर्ष नेताहरुकै कारण नेकपा पुनः एक हुन नसक्ने राजनीतिक विश्लेषक पुरञ्जन आचार्यको विश्लेषण छ ।
गत पुस ५ मा प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि सत्तारुढ नेकपा राजनीतिक रुपमा विभाजित छ । यद्यपि, सर्वोच्च अदालतले संसद भने पुनःस्थापना गरिसकेको छ ।