काठमाडौं । सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमाथि लागेको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेसँगै महासचिव विप्लव सार्वजनिक भएका छन् ।
दुई वर्षदेखि भूमिगत रहेका नेकपाका महासचिव विप्लवको नवलपूरबाट सार्वजनिक हुनुभएको हो ।
महासचिव विप्लवले नवलपुरमा सहिद परिवार भेटघाट गरी शुक्रबार बिहान काठमाडौ प्रस्थान गर्नुभएको छ । नवलपुरबाट नै भूमिगत पछि उहाँको पहिलो तस्बिर सार्वजनिक भएको छ ।
प्रहरी स्कटिङमा आजै काठमाडौं पुगेर प्रधानमन्त्री केपी ओली सँग उनले संयुक्त सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार तथा सरकारी वार्ता टोलीका सदस्य डा.राजन भट्टराईले आज दिउँसो २ बजे विशेष समारोहलाई प्रधानमन्त्री ओली र नेकपा महासचिव विप्लवले सम्बोधन गर्ने जानकारी दिनुभयो ।
विप्लव पक्षसँग बिहीबार तीनबुँदे सहमति भएपछि बसेको मन्त्रिपरिषद् बैठकले दुई वर्षयता लगाइँदै आएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको थियो ।
सहमतिका विषय बुँदागत रूपमा नखुलाइए पनि त्यसको विस्तृत विवरण आज प्रधानमन्त्री ओली र विप्लव दुवै नेताले एकै मञ्चबाट सम्बोधन गरी सार्वजनिक गर्ने कार्यक्रम बनेको छ ।
सहमतिअनुसार नै विप्लवका बन्दी नेता–कार्यकर्ता रिहाइ गर्ने क्रम सुरु भइसकेको छ । सरकारले उनीहरूलाई रिहा गर्न सम्बन्धित प्रशासन कार्यालयलाई सर्कुलर गरेको छ ।