Nov 06 2026 | २०८३, कार्तिक २१ गते

२०८३, कार्तिक २१ गते
  • यो साता चर्चामा :
images
सरकार–विप्लव वार्ता

प्रदीप पौडेलको प्रश्न : विप्लवको विद्रोहले जनतालाई के दियो ?

प्रदीप पौडेलको प्रश्न : विप्लवको विद्रोहले जनतालाई के दियो ?

‘सरकारले गरेको सहमतिलाई भयंकर सफलताको उपमा दिएर रंग्याउनु आवश्यक छैन’
  • बिहिवार, फाल्गुण २० २०७७

  • 802
    SHARES

  • प्रदीप पौडेलको प्रश्न : विप्लवको विद्रोहले जनतालाई के दियो ?

    काठमाडौँ – स्वतन्त्र मधेशको अभियान चलाइरहेका सीके राउतलाई अखण्ड नेपाल स्वीकार गराउँदै राजनीतिको मुलधारमा अवतरण गराउन सफल प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई पनि हिंसाको बाटो परित्याग गराउन सफलता हासिल गरेको भन्दै उहाँको प्रसंशा सुरु भएको छ ।

    हत्या हिंसामा लागेको भन्दै सरकारले प्रतिबन्ध लगाएको दुई वर्ष पुग्न एक साता अघि विप्लव नेतृत्वको पार्टीले सरकारसँग तीन बुँदे सहमति गर्दै हिंसा त्यागेको घोषणा गरेको हो । सरकारसँग भएको तीन बुँदे सहमति पत्रमा विप्लव नेकपाले आफ्ना सम्पूर्ण राजनीतिक क्रियाकलापहरु शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने उल्लेख छ ।

    सहमति अनुसार सरकारले विप्लव समूहमाथि यसअघि लगाएको प्रतिबन्ध फुकुवा गरेको छ भने नेता–कार्यकर्ताहरू माथि लगाएका मुद्दा पनि फिर्ता गर्ने भएको छ । देश टुक्र्याउने अभियानमा लागेका सीके राउतपछि हिंसाको बाटो रोजेका नेत्रविक्रम चन्द विप्लवलाई पनि शान्तिपूर्ण राजनीतिमा अवतरण गराउन सफल भएको भन्दै प्रधानमन्त्री ओली र सरकारको प्रसंशा भइरहेको हो ।

    नेकपा ओली समूहका नेता सत्यनारायण मण्डलले सीके राउत र विप्लवलाई मुलधारमा ल्याउनु सरकारको ऐतिहासिक सफलता रहेको बताउनुभयो ।

    नेकपा प्रचण्ड माधव समूहका नेताहरुले पनि हिंसाको बाटोमा रहेकाहरुलाई शान्तिपूर्ण राजनीतिमा ल्याउन पहल गर्ने सरकारको कदम स्वागतयोग्य रहेको बताएका छन् । तर यसलाई सरकारको एकपक्षीय सफलताका रुपमा मात्रै व्याख्या गर्न नमिल्ने प्रचण्ड माधव समूहका नेता दिनानाथ शर्मा बताउनुहुन्छ ।

    विप्लव समूहलाई शान्तिपूर्ण राजनीतिमा ल्याउन पनि र आउनु पनि दुवै सकारात्मक पक्ष रहेको उहाँले बताउनुभयो । तर एक पक्षीय रुपमा सरकारको सफलता भनेर व्याख्या गर्नु उचित नहुने उहाँ बताउनुहुन्छ ।

    नेपाली कांग्रेसका नेता प्रदीप पौडेललाई पनि विप्लव समूहसँग सरकारले गरेको सहमतिलाई भयंकर सफलताको उपमा दिएर रंग्याउनु आवश्यक लागेको छैन । बरु विप्लव नेतृत्वको नेकपाले के का लागि विद्रोह गरको थियो र अहिले के उपलब्धी हासिल गरेर सरकारसँग सम्झौता गर्न तयार भयो भन्ने प्रश्न अहम रहेको उहाँले बताउनुभयो ।

    हिंसा त्यागेर शान्तिपूर्ण राजनीतिमा आउनु आफैमा राम्रो कुरा भए पनि विप्लवको विद्रोहले जनतालाई के दियो भन्ने विषय गम्भीर रहेको उहाँ बताउनुहुन्छ । सरकार–विप्लव समहतिले विद्रोहका नाममा जनतालाई दुःख दिएर सरकारसँग सम्झौता गर्ने परम्परा नै स्थापित हुने हो कि भन्ने चिन्ता पनि पैदा भएको छ ।

    नेता पौडेलले विप्लवको सिको गर्दै कुनै अर्काे एक समूहले विद्रोहको नाटक सुरु गरेर जनतालाई दुःख दिन सक्ने सम्भावना कम नरहेको बताउनुभयो ।

    विप्लव समूह र सरकारबीच आज भएको सहमतिको विस्तृत विवरण भने भोलि मात्रै सार्वजनिक गरिने भएको छ । भोलि एक विशेष समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका महासचिव विप्लवले एउटै मञ्चबाट सहमतिको विस्तृत विवरणसहित सम्बोधन गर्ने कार्यक्रम तय छ । सरकारले प्रतिबन्ध लगाएपछि विप्लव भूमिगत रहँदै आउनुभएको थियो ।


    बिहिवार, फाल्गुण २० २०७७०७:५३:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij