काठमाडौं । गृहमन्त्री एवम् ओलीपक्षीय नेकपाका नेता रामबहादुर थापा ‘बादल’ ले पार्टी एकता जोगाउने अन्तिम अवसर भएको भन्दै प्रचण्ड–माधव पक्षलाई भदौ २६ को निर्णयमा फर्किन प्रस्ताव गर्नुभएको छ ।
आज पोखरामा आफूपक्षीय प्रदेशस्तरीय कार्यकर्ता भेला र प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले प्रचण्ड–माधवलाई अविश्वासको प्रस्ताव फिर्ता लिई सच्चिएर आउने अवसरसमेत मिलेको बताउनुयो ।
‘उहाँहरूले अविश्वास प्रस्तावलाई फिर्ता गरेर एकता गर्ने अवसर आएको छ,’ बादलले भन्नुभयो, ‘तपाईंहरूलाई सच्चिने अवसर मिलेको छ । पार्टी एकताका निम्ति भदौ २६ मा फर्किनुहोस् । आत्म आलोचनसहित भदौ २६ को निर्णय पालना गर्नुहोस् र एकतामा सहयोग पुयाउनुहोस् ।’
२६ भदौको स्थायी कमिटी बैठकले त्यसअघिका सबै विवादलाई थाती राख्ने, प्रचण्डलाई पार्टीको कार्यकारी अध्यक्षको अधिकार प्रदान गर्ने र केपी शर्मा ओली सरकारको काममा केन्द्रित हुने निर्णय गरेको थियो ।
आफूहरू एकताको पक्षमा भए पनि प्रचण्ड–माधव पक्ष फुट, गुट र अस्थिरताको पक्षमा लागेको बादलको आरोप छ ।