काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । उनले आज बिहान भारतको राजधानी नयाँ दिल्लीस्थित एम्स अस्पतालमा खोप लगाएका हुन् ।
प्रधानमन्त्री मोदीले आज बिहान मात्रै सामाजिक सञ्जालमा तस्बिर पोस्ट गर्दै यसको जानकारी दिएका हुन् । खोप लगाएपछि उनले कोरोनाको नियन्त्रण र खोपको विकास तथा उत्पादनमा लागेका सबैप्रति सम्मान प्रकट गरेका छन् ।
मोदीले खोप लगाउन योग्य सबै भारतीय नागरिकलाई खोप कार्यक्रममा सहभागी भएर कोरोनाविरुद्धको खोप लगाउन आग्रह गर्दै देशलाई कोरोनामुक्त बनाउने अभियानमा सहयोगको लागि आग्रहसमेत गरेका छन् ।
‘कोरोनाको विश्वव्यापी महामारीलाई नियन्त्रण गर्नका लागि डाक्टर र वैज्ञानिकहरुले दिएको योगदानलाई स्मरण गर्न चाहन्छु’, उनले लेखेका छन्, ‘कोरोनाको खोप लगाउन योग्य सबै व्यक्तिलाई खोप लगाउनका लागि अनुरोध गर्दछु । अब सबै मिलेर कोरोना महामारीलाई भारतबाट हटाउनु पर्छ ।’
