काठमाडौं । गायिका कोमल ओलीले प्रचण्ड–माधव समूहका नेता रघुजी पन्तलाई कडा जवाफ दिएकी छन् । राष्ट्रिय सभाकी सांसद तथा नेकपा ओली समूहकी नेतासमेत रहेकी ओलीले शनिबार साँझ ट्विटरमार्फत पन्त निच भएको आरोपसमेत लगाएकी छिन् । त्यस्तै आज बिहान ओलीले फेसबुकमार्फत पनि आपत्ति जनाएकी छिन् ।
‘हामीले नेता मानेका रघुजी पन्त कति निच हुनुहुँदोरहेछ भन्ने बल्ल खुलेको छ’, ट्विटरमा ओलीले पन्तलाई प्रश्न गरेकी छिन्, ‘पन्तजीलाई मेरो प्रश्न, तपाईँको पार्टीमा कुनै पदमा रहनुभएका महिला नेतृहरुले को कसलाई पिंडुला देखाएर त्यो स्थानमा पुग्नुभएको हो ? के यो देशमा महिला कुनै पदमा पुग्न तपाईँको जस्तो दरिद्र सोचको शिकार हुनुपर्छ ?’

फेसबुकमार्फत पनि सांसद ओलीले एकअर्काको सम्मान गर्न नसिक्ने नेतृत्वले समाजलाई दुर्घटनातिर लैजाने बताएकी छिन् ।
पूर्वीया दर्शनदेखि मानव विकासमा महिलाको उच्च सम्मान समाजको कसिमा उत्तीर्ण भएर भएको छ । प्रकृतिले नै महिला र पुरुषको समायोजन गरेको हो । एकअर्काको आदर सम्मान विना समाजमा न्याय समानता र विवेकशीलताको अन्त हुन्छ । समाज हिंसा तिर जान्छ र दया करुणा जस्ता कुरा हराउँछन्,’ उनले थपेकी छिन्, ‘तसर्थ एकले अर्कालाइ सम्मान गर्नु जीवनलाई मर्यादित र सरल बनाउनु हो ।’
सांसद ओलीले प्रचण्ड–माधव समूहका पन्त जस्ता असभ्य नेताले नेतृत्व गर्ने हो भने राजनीतिक पार्टी र समाज दुर्घटनामा जाने पनि बताएकी छिन् ।
‘नेकपाका नेता रघु पन्तले महिलाहरुले प्राप्त गर्ने पदहरु पिंडुला देखाएर भन्ने जुन अभिव्यक्ति दिनुभएको छ उहाँको मानव विकासका क्रममा बन्ने तन्तुहरु बीचैमा रोकिएको जस्तो छ’, उनलको प्रश्न छ, ‘उहाँले प्रयोग गर्ने शव्दहरुले आफ्नो आमा दिदीबहिनी सबैलाई अपमान गरेको छ ।विवेकहीन मानिसको आलोचनाले आफंैलाई आलोचित गर्दछ । यस्ता व्यक्तिले नेतृत्व गरेका राजनीतिक पार्टी र समाजको दुर्घटना कति टाढा होला ?’

नेकपाको प्रचण्ड–माधव समूहका नेता पन्तले शनिबार राजधानीमा आयोजित कार्यक्रमा कार्यक्रममा सांसद ओलीमाथि टिप्पणी गरेका थिए । सो टिप्पणीसँगै उनको अहिले चर्को आलोचना भइरहेको छ ।
पन्तले गायिका ओलीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले ‘पाएला जान पाम’जस्ता गीत गाउँदै पिंडुला देखाएकै भरमा राष्ट्रियसभाको सांसद बनाएको टिप्पणी गरेका थिए ।