काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीमा सिद्धान्त, निष्ठा र इमानदरिताको क्षमता नभएको बताउनुभएको छ ।
’ शिक्षक संगठनको राष्ट्रिय भेलालाई आज सम्बोधन गर्दै प्रचण्डले ओलीले राजनीतिमा निष्ठा देखाउन नसकेको बताउनुभएको हो । प्रचण्डले ओलीमा छलछाम, जालझेल, खुराफात र बेइमानी दलालको चरित्र भएको टिप्पणी समेत गर्नुभएको छ । महाभारतको सकुनी पात्रलाई मन पराउने भएकाले प्रधानमन्त्री ओलीले त्यस्तै जालझेल गरिरहेको उहाँले आरोप लगाउनुभयो ।
‘अनि उनी सकुनीको भूमिकामा छन् हेर्नुस्,’ उहाँले भन्नुभयो । पार्टीका संगठनहरू अब एकताबद्ध बनाएर लैजानुपर्ने प्रचण्डको भनाइ छ । ओलीबाट उन्मुक्ति प्राप्त भएकाले अब संगठन निर्माणमा लाग्नुपर्नेमा प्रचण्डले जोड दिनुभयो ।
राष्ट्रिय राजनीतिमा भने अझै आफूहरूको जीत भइनसकेको प्रचण्डको भनाइ छ । ‘हामीले पूरै युद्ध जितिसकेका छैनौं । अहिले पनि चुनौती छन्, जटिता छन् । हामी फैरि पनि आन्दोलनमै छौं । अनेकखालका षडयन्त्र र जालझेल भइरहेका छन्,’ उहाँले भन्नुभयो ।
नेकपा एमाले र माओवादी केन्द्रको एकताबाट बनेको अहिलेको नेकपा बनेको र अहिले फेरि एमाले कहाँ छ ? भन्ने प्रश्न उठाइरहेको भन्दै प्रचण्डले विगतको एमाले र माओवादी अहिले नेकपामा रहेको बताउनुभयो ।
आधिकारिक नेकपा र वैधानिक पक्ष आफूहरू भएको भन्दै प्रचण्डले कार्यकर्ताहरूलाई एकता बलियो पार्नका निम्ती भूमिका खेल्न निर्देशनसमेत दिनुभएको छ ।