बुटवल । लुम्बिनी प्रदेशका मुख्य मन्त्री शंकर पोखरेलले बुटवलमा लगानी गर्न आह्वान गर्नुभएको छ ।
आर्थिक तथा सामाजिक र सार्वजनिक क्षेत्रमा बुटवलमा धेरै काम गर्न बाँकी रहेको र धेरै संभावनाहरु पनि रहेको उहाँको भनाई थियो ।
नेपालको मध्यभागमा पर्ने, सवैतिरबाट आवत जावत गर्न सजिलो ठाँउ भएकाले बुटवल कहिल्यै ओझेलमा नपर्ने पनि उहाँले दावी गर्नुभयो ।
बुटवल जेसिजका तत्कालिन अध्यक्ष जगत पोखरेलको कार्यकालमा निर्माण गरिएको जेसिज भवनको उद्घाटन गर्दै उहाँले एक बर्षमा यति ठूलो भवन बनाउन सक्नु आफैमा अनुकरणीय भएको उल्लेख गर्नुभयो ।
सामुहिक प्रयासबाट नै सामाजिक कार्य सफल हुने भन्दै उहाँले बुटवलको संभावनाहरुलाई पर्याप्त सदुपयोग हुन नसकेको गुनासो पनि गर्नुभयो ।
‘लगानीको प्रतिफल उठांउन बुटवलमा धेरै समय लाग्दैन, यो प्राइम लोकेसन हो, यहांको लगानीले सान पनि पाइन्छ, मान पनि पाइन्छ, खुलेर लगानी गर्नुस् ।’
कार्यक्रममा बुटवल जेसिज र नेपाल जेसिजका पूर्व अध्यक्ष तथा भवन निर्माण समितिका संयोजक जगत पोखरेलले सामाजिक सम्पत्तिको रुपमा जेसिज नयाँ व्यवसायीक भवन निर्माणका लागि गर्नु परेको संघर्ष सुनाउनु भएको थियो ।
उहाँले सर्वपक्षीय सहयोगमा मात्रै बुटवल जेसिजको भवन निर्माण गर्न सकिएको भन्दै सबैप्रति आभार ब्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा प्रदेश सांसद भोजप्रसाद श्रेष्ठ, बुटवल उपमहानगरका प्रमुख शिबराज सुवेदी, नेपाल जेसिजका अर्का पूर्व अध्यक्ष अनुपमान सैँजू लगायतले एकै बर्षमा व्यवसायीक भवन निर्माण गरेर पूर्व अध्यक्ष पोखरेलले सक्रियताको उदाहारण प्रस्तुत गरिदिएको बताउनु भएको थियो ।
सो अवसरमा भवन निर्माणका लागि सहयोग पुर्याएका सबै दाता तथा सहयोगीहरुलाई सम्मान गरिएको थियो भने स्मारिकाको समेत बिमोचन गरिएको थियो ।
बुटवल जेसिजका अध्यक्ष गोपाल चापागाईको अध्यक्षता तथा पुर्व अध्यक्ष मनोज भट्टराइको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।