काठमाडौँ – प्रमुख विपक्षी नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले सत्ता सहकार्यका लागि नेकपाको प्रचण्ड माधव समूहले गरेको प्रस्ताव अस्वीकार गरेका छन् । दुवै पार्टीले आधिकारिक रुपमा नेकपा विभाजन नहुँदा सम्म सहकार्यका लागि प्राप्त प्रस्तावलाई स्वीकार्न नसकिने बताएका हुन् ।
हिजो नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग सत्ता सहकार्यको प्रस्ताव गरेका नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले आज जनता समाजवादी पार्टीका नेताहरुसँग पनि सहकार्यको प्रस्ताव राख्नुभएको हो ।
तर नेकपा आधिकारिक रुपमा विभाजन नभएसम्म सत्ता सहकार्यको प्रस्ताव स्वीकार्न नसकिने दुवै पार्टीले जनाएका छन् । नेपाली कांग्रेसले नेकपा विवादको अन्तिम टुंगो नलाग्दासम्म उसका कुनै पक्षसँग सहकार्य नगर्ने जनाएको छ ।
आज पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठकले विवादको टुंगो नलग्दासम्म कुनै पक्षसँग सहकार्य नगर्ने निर्णय गरेको हो । सभपाति देउवा निकट नेता एनपी साउँदले नेकपा विभाजन भएर सरकार बन्नै नसक्ने अवस्था आए मात्र कांग्रेस सरकारमा जान ठिक हुने बताउनुभयो ।
यस्तै जनता समाजवादी पार्टीले पनि नेकपा विवादको टुंगो नलाग्दासम्म कुनै एक पक्षले सत्ता सहकार्यको कुरा गर्न नसुहाउने प्रतिक्रिया दिएको छ । सत्ता सहकार्यको प्रस्ताव गरेपछि आफूले प्रचण्ड र माधव नेपाललाई तपाईँहरु कुन पार्टीबाट हो भनेर सोधेको जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महताले बताउनुभयो ।
प्रतिनिधिसभा पुनस्र्थापनापछि नेपालमा सत्ता समिकरणको नयाँ खेल सुरु भएको छ । तर प्रधानमन्त्री केपी शर्मा ओलीसहित उनी निकट नेताहरु भने सरकार नफेरिने दाबी गरिरहेका छन् । नेकपाका दुवै समूहले पार्टी एकताको सम्भावनातर्फ पनि अभिव्यक्तिहरु दिइरहेका छन् । उपप्रधानमन्त्री ईश्वर पोखरेलले अदालतको फैसलापछि नेपालको राजनीति पुष ५ अगाडि नै फर्केको बताउनुभयो ।
ओली समूहका नेताहरुले नेकपा कानुनी रुपमा विभाजन नभएको भन्दै फेरि पनि एकतावद्ध हुनुपर्ने बताइरहेका छन् । तर अध्यक्ष प्रचण्डले केपी ओलीले विभाजन नै गरिसकेकोले अब तत्काल पार्टी एकता सम्भाव नरहेको बताउनुभएको छ । बिबिसीसँगको एक अन्तर्वार्तामा प्रचण्डले केपी ओलीसँग मिलेर सरकार बनाउने सम्भावना पनि नरहेको बताउनुभएको छ ।
ओली समूहका नेताहरुले नाटकीय रुपमा पार्टी विभाजन रोक्नुपर्ने अभिव्यक्ति दिन थालेका छन् भने प्रचण्ड माधव समूहका नेताहरुले पनि बाटो बिराएर ओलीतर्फ लागेकाहरुलाई स्वागत गर्न आफूहरु आँतुर रहेको बताइरहेका छन् । दुवै समूहका अभिव्यक्तिले नेकपा फेरि एकतावद्ध हुने र नेकपाकै सरकार बन्न सक्ने सम्भावना न्यून नरहेको विश्लेषण राजनीतिक वृतमा हुन थालेको छ ।