काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुर्नस्थापनाको फैसला सुनाएसँगै विभिन्न कलाकारले पनि आफ्नो अभिमत राखेका छन् । अधिकांशले संसद् पुर्नस्थापना हुनु नेपालको राजनीतिका लागि एउटा ऐतिहासिक दिन भएको बताइरहेका छन् ।
अभिनेता भुवन केसीले सर्वोच्चले गरेको संसद् पुर्नस्थापनाको कदमको स्वागत गर्दै कठिन समयमा सही निर्णय गर्ने न्यायमूर्तीहरुलाई धन्यवाद दिएका छन् ।
‘सर्वोच्च अदालतको निर्णयले संविधानमाथि खेलाची गर्ने शासकलाई लगाम लगाउने नजिर मात्र स्थापना गरेको छैन, हजारौको भौतिक र मानसिक बलिदानीपछि प्राप्त संविधानको सर्वोच्चताको पनि रक्षा गरेको छ’, सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले भनेका छन्, ‘सँगै हामी सबैले संविधानको अक्षरश पालना गर्नुपर्छ र नगर्नेहरु दण्डित हुन्छन् भन्ने सन्देश पनि संसद् पुर्नस्थापनाले दिएको छ ।’

भुवनले संवैधानिक संकट टरे पनि नेतृत्वमाथिको आशंका भने नटरेको उल्लेख गरेका छन् ।
‘आउँदो समयमा शासन सत्तामा रहनेले संविधान न जनता कसैलाई पनि ‘टेकन फर ग्रान्टेड’ नलिनुहोला । मेरो नेता नभनेर गर्व गर्ने ठाउँ दिनुहोला’, उनले लेखेका छन् ।
अभिनेता केसी पछिल्लोसमय देशको राजनीतिक अवस्थाको बिषयमा आफ्ना भनाइहरु सार्वजनिक गर्दै आएका छन् । उहीबीचमा उनले संसद् पुर्नस्थापनाबारे आफ्नो धारणा राखेका हुन् ।
यस्तै अर्का कलाकार दीपकराज गिरीले प्रतिनिधिसभा पुर्नस्थापना भएको सर्वोच्च अदालतको निर्णय आएलगत्तै आफ्नो प्रतिक्रिया दिन भ्याएका छन् । सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले प्रतिप्रश्न गरेका छन्, ‘सर्वोच्चको फैसला : यो जीत कसको ? यो हार कसको ?’

उनले यस्ता निर्णयले नेताहरूले जिते पनि देशले भने हार्ने तर्क गरेका छन् ।
‘यसरी सोच्ने बुद्धि कसैमा पनि नआओस् नत्र दल र नेताहरूले त जित्लान् ,देशले हार्नेछ’, उनले लेखेका छन् ।
यस्तै, गायक अमृत गुरुङ्गले संविधानको हत्या गर्न खोज्नेलाई कुन कानून लाग्ला श्रीमान् ?’ भन्दै प्रश्न गरेका छन् ।
सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले संविधानको हत्या गर्न खोज्नेलाई पनि कानून लाग्नुपर्ने तर्क गरेका छन् ।
प्रतिनिधिसभा पुनःस्थापना भएको सर्वोच्च अदालतको निर्णय आएसँगै बुधबार गायक गुरुङले संविधानअन्तर्गत रहेका हामी स्वतन्त्र देशका नागरिकले ‘संविधानको जित’ भएको महशुस गर्नुपर्ने र हर्ष मान्नुपर्ने विडम्बना भएको उल्लेख गरेका छन् ।
‘संविधानअन्तर्गत रहेका हामी स्वतन्त्र देशका नागरिकल, ‘संविधानको जित’ भएको महशुस गर्नुपर्ने, हर्ष मान्नुपर्ने, यो कस्तो विडम्बना’ उनले ट्विटरमार्फत प्रतिप्रशन गरेका छन्, ‘संविधानको हत्या गर्न खोज्नेलाई कुन कानून लाग्ला श्रीमान् ?’

गत पुष ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तापक्षबाटै असहयोग भएको भन्दै प्रतिनिभिसभा विघठन गरेका थिए । त्यसैलाई सर्वोच्चले मंगलबार बदर गरेको हो ।
संसद् विघटनपछि त्यसको पुर्नस्थापनाको माग गर्दै उनकै पार्टी नेकपाको पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहलगायत विभिन्न पार्टी र नागरिक समाजले आन्दोलन गर्दै आएका थिए ।
संसद् विघटनविरुद्ध सर्वोच्चमा १३ वटा रिट परेका थिए ।