एजेन्सी । इटालियन सिरी ’ए’ फुटबलमा साविक विजेता युभेन्ट्सले सहज जित निकालेको छ ।
हिजो राति भएको खेलमा युभेन्ट्सले क्रोटोनलाई ३–० गोल अन्तरले पराजित गरेको छ ।
घरेलु मैदानमा युभेन्ट्सलाई जित दिलाउन क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे । खेलको ३८ औं मिनेटमा रोनाल्डोले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए ।
पहिलो हाफको इन्जुरी समयमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गरेपछि युभेन्ट्सले २–० को अग्रता बनाएको थियो । रोनाल्डोले दुबै गोल हेड मार्फत गरेका थिए ।
गोलसँगै रोनाल्डो सिरी ’ए’ को यस सिजन सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा उक्लिएका छन् ।
रोनाल्डोले १८ गोल गरेका छन् । यस्तै रोनाल्डो लगातार १४ सिजन २५ भन्दा बढी गोल गर्ने खेलाडी बनेका छन् ।
जितसँगै युभेन्ट्स लिगको तेस्रो स्थानमा उक्लिएको छ । युभेन्ट्सले २२ खेलमा ४५ अंक जोडेको छ । युभेन्ट्स शीर्ष स्थानको इन्टर मिलान भन्दा अझै ८ अंकले पछि रहेको छ ।