काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले एउटा व्यक्तिको जीवनमा राष्ट्र नै सबैभन्दा ठूलो हुनुपर्ने धारणा व्यक्त गर्नुभएको छ । ‘नेसन इज द फस्ट’ भन्दै प्रधानमन्त्री ओलीले न्याय र सामाजिक उत्तरदायित्व बिनाको राष्ट्रहित ‘राष्ट्रहित’ हुन नसक्ने स्पष्ट पार्नुभयो ।
“अवश्य नै राष्ट्र सबभन्दा ठूलो हो, राष्ट्रिय हितलाई सर्वोपरि राख्नुपर्छ तर न्यायलाई मिचेर, अन्तर्राष्ट्रिय उत्तरदायित्वलाई बिर्सेर राष्ट्रको हित मात्रै भन्यो भने बलियाले कमजोरमाथि अन्याय गरेको ठहर्छ”, उहाँले भन्नुभयो, “अन्यायपूर्ण ढङ्गले गरिने राष्ट्रहित साम्राज्यवादी राष्ट्रहित हुन्छ, उपनिवेशवादी राष्ट्रहित हुन्छ, हामी यही सिद्धान्तमा विश्वास गर्छौं ।”
नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रतिष्ठानको आर्थिक वर्ष २०७६÷७७ को वार्षिक प्रतिवेदन बुझ्नुहुँदै तथा नेपाली बृहत् शब्दकोशको मोबाइल एप सार्वजनिक गर्नुहुँदै प्रधानमन्त्रीले ओली भन्नुभयो, हाम्रा प्रयासहरू नेपाल राष्ट्र र नेपाली जनताको विकास, उन्नति र सुखमा केन्द्रित गर्न चाहन्छौँ ।”
प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले प्रधानमन्त्री ओलीलाई प्रतिष्ठानको वार्षिक प्रतिवेदन हस्तान्तरण गर्नुभएको थियो । प्रतिष्ठानको प्रमुख संरक्षकसमेत रहनुभएका प्रधानमन्त्री ओलीले प्रतिष्ठानद्वारा सञ्चालनमा ल्याइएको शब्दकोश एपले मुलुकलाई आधुनिकीकरणको बाटोमा अगाडि बढाउने सन्दर्भमा र डिजिटल नेपालको हैसियतमा माथि उठाउने सन्दर्भमा योगदान पु¥याउने चर्चा गर्नुभयोे । प्राप्त उपलब्धिमाथि सबैको समान हक र अधिकार हुनुपर्छ भन्नुहुँदै उहाँले हाम्रा प्रयासहरूले जनताको जीवनलाई सरल, सहज, अभावहीन र सुखी बनाउनुपर्छ भन्नुभयो ।
“असहाय, बेसहारा कसैले पनि त्रासको अनुभूति गर्न नपरोस् र सम्मानपूर्ण जीवन सबैले पाऊन्”, उहाँले भन्नुभयो, “समृद्धिले मात्र सुख प्राप्त हुन सक्दैन, न्यायोचित र मानवीय समाजमा मात्र नागरिकलाई सुख प्राप्त हुन सक्छ ।”
मुलकको विविधतालाई हाम्रो सम्पत्ति र सम्पन्नताका रूपमा लिनुपर्ने बताउनुहुँदै उहाँले विगतमा मुलुकलाई जाति, भाषा र भ्ूगोलका आधारमा, पहिचानको गलत अर्थ लगाएर, अपव्याख्या गरेर भड्काउन खोजिएको र आमनागरिक देशप्रतिको कर्तव्य बुझेपछि त्यस्ता तत्वहरू पराजित भएको चर्चा गर्नुभयो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले मुलुकको भाषा, साहित्य र संस्कृतिको संरक्षण प्रवद्र्धनका लागि सरकार प्रतिबद्ध रहेको बताउँदै आगामी दिनमा यहाँका सबै भाषा र संस्कृतिको विकासमा प्रतिष्ठान थप सक्रिय भएर अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।
प्रतिष्ठानका कुलपति उप्रेतीले प्रतिष्ठान मुलुकका सबै भाषा, साहित्य र संस्कृतिको विकासमा अहोरात्र खटिरहेको बताउँदै सातवटै प्रदेशका विविधता र त्यहाँका सम्पदाहरू समेटेर गौरवगाथा लेखन कार्य भइरहेको जानकारी दिनुभयो । प्रदेश २ को गौरवगाथा लेखन सम्पन्न भइसकेको जानकारीसमेत उहाँले दिनुभयो ।