काठमाडौँ – प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा केही दिनभित्रै फैसलाको तयारी भइरहेका सन्दर्भमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र प्रधानसेनापति पूर्णचन्द्र थापाबीच भेटवार्ता भएको छ।
आज दिउँसो सर्वोच्च अदालतमा प्रधानन्यायाधीश राणा र प्रधानसेनापति थापाबीच भएको भेटवार्तालाई लिएर अनेकन अड्कलबाजी भइरहेका छन्।
राजनीतिक विश्लेषक डा. लोकराज बरालले संसद विघटनविरुद्धको मुद्दामा फैसलाको तयारी भइरहँदा भएको यो भेट अर्थपूर्ण हुन सक्ने बताउनुभयो।
सम्भवतः फैसला बदर वा सदर जे भए पनि त्यसपछिको प्रतिकुल परिस्थितिको सामना कसरी गर्ने भन्नेबारे प्रधानन्यायाधीश र प्रधानसेनापति बीच छलफल भएको हुन सक्ने उहाँले बताउनुभयो।
सर्वाेच्च अदालत र सैनिक मुख्यालय दुवैले सिंहदरबारभित्र सेनाले प्रयोग गरिरहेको क्षेत्रमा सर्वोच्च अदालतले नयाँ भवन बनाउने योजनाका बारेमा कुराकानी भएको विषय सञ्चार गर्न खोजे पनि भेटवार्ता यतिमा मात्रै सीमित नरहेको कतिपयको बुझाई छ।
नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले प्रधानन्यायाधीश राणा र प्रधानसेनापति थापाबीच आज भएको भेटवार्ताको राजनीतिक सन्देश रहेको बताउनुभयो। अदालतबाट संसद विघटनको मुद्दामा निष्पक्ष फैसलाको आशा जगतले गरेका बेला यस्ता खालका भेटले अदालतप्रति आशंका बढाउने उहाँको दाबी छ।
तर विश्लेषक डा. सुरेन्द्र केसीलाई भने प्रधानन्यायाधीश राणा र प्रधानसेनापति थापाबीचको आजको भेटवार्ता अस्वभाविक लागेको छैन।
सर्वाेच्चले भवन निर्माण गर्न खोजेको जग्गाको सहजीकरणका लागि कुराकानी भएको विषय सार्वजनिक भएकोले यसमा अन्यथा सोचिहाल्नुपर्ने विषय नरहेको उहाँको बुझाई छ।
तर संसद विघटनको मुद्दासँग यो भेटवार्ता सम्बन्धित रहेको हुन सक्ने कुरालाई पनि नर्कान नमिल्ने उहाँले बताउनुभयो।
प्रधानन्यायाधीश राणाले सोमबारपछिका जुनसुकै दिन संसद विघटन मुद्दाको फैसला दिने घोषणा गर्नुभएको छ।
नेकपाको दुवै समूहबाट आ–आफ्नो पक्षमा फैसला गराउन सर्वाेच्चलाई चर्काे दबाब परेका बेला प्रधानसेनापतिले सर्वाेच्चमै गएर प्रधानन्यायाधीशलाई भेट्नुले नेपाली राजनीतिमा नयाँ तरंग पैदा गरेको छ।