काठमाडौं । नेकपा प्रचण्ड–माधव समुहका अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रम छरिरहेको बताउनुभएको छ ।
पेरिसडाँडामा बसेको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओली अहिले पनि साम, दाम दण्ड भेद सवै प्रयोग गरेर जनता र नेकपा नेता कार्यकर्तामाथि भ्रम छर्न तल्लिन रहेको बताउनुभएको हो ।
‘ओलीले अझै विभिन्न किसिमका भ्रमहरु छरिरहेका छन् । पूर्व एमालेहरु मिल्नुपर्छ । यति मानिस यता आए भनेर व्यापक भ्रम फिजाइरहेका छन् । त्यो भ्रममा नपर्न म सबै केन्द्रीय सदस्यहरुलाई आग्रह गर्छु’, नेपालले बैठकमा भन्नुभयो, ‘यो विचारको लडाई हो ।’
उहाँले केपी ओली टुक्रेर नेकपाबाट बाहिरिएको भन्दै ओली गएपछि कम्युनिस्ट आन्दोलनको घाँडो समाप्त भएको बताउनुभयो । उहाँले आफ्नो नेतृत्वको पार्टीको पक्षमा दुई तिहाई सदस्य हुँदा पनि निर्वाचन आयोगले आधिकारिकता नदिए चुप लागेर नबस्ने चेतावनी दिनुभयो ।
‘हामीसँग दुई तिहाइ छ । यति हुँदा पनि हामीलाई मान्यता दिइएन भने चुप लागेर बस्दैनौँ । जस्तोसुकै आन्दोलन गर्नुपरेपनि गर्न तयार छौँ,’ अध्यक्ष नेपालले थप आन्दोलनको संकेत गर्नुभएको छ । यसअघि आजै सो समूहको स्थायी कमिटी बैठक बसेको थियो ।