काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्धका मुद्दामाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा जारी बहस सकिएको छ । एमिकस क्युरीका रुपमा वरिष्ठ अधिवक्ता गीता पाठक संग्रौलाले राय दिएसँगै बहस सकिएको हो इजलासले सहभागी अधिवक्ताहरुलाई आगामी सोमबार १० गते सम्म बहस नोट उपलब्ध गराउन भनेको छ । त्यसपछि यो मुद्दा हेर्दाहेर्दैमा रहने र जुनसकै बेला फैसला हुन सक्ने छ ।
पक्ष र विपक्षका कानुन व्यवसायीको बहस सकिएपछि चार दिन एमिकस क्युरीमा रहेका नेपाल बार एसोसियसन र सर्वोच्च अदालत बार एसोसियसनका ५ वरिष्ठ अधिवक्ताले राय दिएका हुन् ।
प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा संवैधानिक इजलासमा माघ ४ गतेदेखि सुनुवाइ सुरु भएको थियो । सुरुका १३ दिन रिट निवेदक पक्षका ७२ कानुन व्यवसायीले बहस गरेका थिए। त्यसको जवाफमा प्रधानमन्त्रीको तर्फबाट महान्यायाधिवक्ता, सरकारी वकिल र निजी कानुन व्यवसायी गरी ४८ जनाले ९ दिन बहस गरेका थिए ।
त्यसको जवाफमा फेरि २ दिन रिट निवेदक पक्षका कानुन व्यवसायीले बहस गरे । यस्तै सभामुख पक्षका तीन कानुन व्यवसायीले पनि बहस गरेका थिए । संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी रहेका छन् ।
प्रधानमन्त्री केपी ओलीको सिफासिमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गर्नुभएको थियो उक्त विघटनविरुद्ध १३ वटा रिट परेका छन् ।
रिट निवेदकले संसद् विघटन असंवैधानिक भन्दै पुनर्स्थापनाको माग गरेका छन् । तर प्रधानमन्त्री पक्षले भने संसदीय व्यवस्थामा प्रधानमन्त्रीले विघटन गर्न सक्ने भन्दै रिट निवेदन खारेज हुनुपर्ने बताउँदै आएका छन् ।
एमिकस क्युरीमा रहेका बहुमत अधिवक्ताको राय पनि संसद् पुनर्स्थापनाकै पक्षमा छ । एमिकस क्युरीमा वरिष्ठ अधिवक्ताहरु बद्रीबहादुर कार्की, सतीशकृष्ण खरेल, विजयकान्त मैनाली, पूर्णमान शाक्य र गीता पाठक संग्रौला रहेका थिए । यीमध्ये मैनालीले मात्रै संसद विघटनको पक्षमा राय दिएका हुन् ।