काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले आफूहरुले ठूलो जुलुस ल्याउन नसक्ने र त्यसका लागि पैसा पनि नभएको बताउनुभएको छ ।
नेपाल राष्ट्रिय मगर संघको गण्डकी प्रदेशको प्रथम सम्मेलन आज उद्घाटन गर्दै देउवाले संसद् विघटन संवैधानिक, असंवैधानिक भए पनि जुलुस निकाल्न सक्ने अवस्था नभएको बताउनुभएको हो ।
‘जुलुस निकाल्न हामीसँग पैसा पनि छैन । ठाउँठाउँमा जबर्जस्ती बोलाउन पनि सकिँदैन’ देउवाले भने, ‘कि त प्रचण्डको जुलुस ठूलो होला कि त ओलीको हुन्छ । हाम्रो त हुँदैन । जुलुसकै आधारमा गर्ने हो भने अदालत किन चाहियो’ उहाँले भन्नुभयो ।
कांग्रेसमा क्रियाशील सदस्यलाई अनिवार्य बोलाए पनि जुलुसमा नआउने उहाँको भनाइ छ । यस्तै उहाँले प्रधानमन्त्री केपी ओलीले हठात् संसद् विघटन गरेर देशमा धेरै ठूलो ध्रुवीकरण गरेको बताउनुभयो ।
देउवाले संसद् विघटन संवैधानिक, असंवैधानिक र अर्कोतिर अदालतमा रहेको मुद्दामा केन्द्रित रहेर संसद् पुनःस्थापना या चुनाव हुनुपर्ने भन्ने चार कुरामा देशभरी पक्ष विपक्ष देखिएको बताउनुभयो ।
कांग्रेस पार्टीको बैठकमा पनि यस विषयमा छलफल भइरहेको उहाँको भनाइ छ ।