काठमाडौं । प्रतिनिधिसभा विघटन बदनियत र असंवैधानिक भएको प्रतिनिधसभा विघटनविरुद्धका मुद्दाका एमीकस क्युरी वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले बताउनुभएको छ ।
संवैधानिक इजलासलाई प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा राय दिने क्रममा आज वरिष्ठ अधिवक्ता कार्कीले प्रतिनिधिसभा विघटनको कारण हेर्दा बदनियत र असंवैधानिक भएको देखिएको बताउनुभयो ।
‘पार्टीभित्रको झगडालाई मुख्य कारण मानेर संसद् विघटन गर्नु मालाफाइड र असंवैधानिक हो । त्यो आधारमा विघटनको अधिकार प्रयोग गर्ने होइन । त्यो अधिकार प्रयोग गर्न पाइँदैन,’ वरिष्ठ अधिवक्ता कार्कीले यो विषयमा आफ्नो प्रष्ट धारणा रहेको बताउनुभयो । संसद् विघटन हुने संवैधानिक आधार र प्रक्रिया पूरा नभएसम्मका लागि विघटन गर्न नपाइने उहाँको भनाइ छ ।
जुन कारण देखाएर प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनको सिफारिस र राष्ट्रपति विद्यादेवी भण्डारीले घोषणा गर्नुभएको छ त्यस आधारमा मिल्छ कि मिल्दैन भन्ने कुराको व्याख्या इजलासले गर्ने भए पनि आफू भने पार्टीको आन्तरिक झगडालाई देखाएर संसद् विघटन गर्न मिल्दैन भन्नेमा स्पष्ट रहेको उहाँको भनाइ छ ।
सर्वोच्च अदालतले गर्ने फैसलामा प्रधानमन्त्रीलाई जवाफदेही हुने संविधानले व्यवस्था गरेको थलो पनि देखाउनुपर्ने कार्कीको भनाइ छ ।
पार्टीभित्र सचिवालय तथा अन्य निकाय रहेकोमा संविधानले चिनेको प्रधानमन्त्रीलाई जवाफदेही हुने थलोबारे संसद् रहेको उहाँले बताउनुभयो ।
संविधानले पार्टीभित्रको कलहको आधारमा प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने अधिकार छ कि छैन भन्ने व्याख्या इजलासले दिने उहाँको विश्वास रहेको छ ।
बहुमतको सरकार रहेको अवस्थामा पार्टीभित्रको कलहका आधारमा प्रतिनिधिसभा विघटन गर्न नपाइने कार्कीको तर्क छ । कार्यक्षेत्रको आधारमा प्रधानमन्त्री सुप्रिम हो कि संसद् भन्ने इजलासले ब्याख्या गर्नुपर्ने उहाँले बताउनुभयो ।