Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री ओलीको अयोध्या अभिव्यक्ति सर्वत्र आलोचित

प्रधानमन्त्री ओलीको अयोध्या अभिव्यक्ति सर्वत्र आलोचित

  • मंगलवार, आषाढ ३० २०७७

  • 895
    SHARES

  • प्रधानमन्त्री ओलीको अयोध्या अभिव्यक्ति सर्वत्र आलोचित

    काठमाडौँ । त्रेतायुगका राम नेपालकै पर्सा जिल्लाको अयोध्यापुरीमा जन्मिएको अभिव्यक्ति दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको नेपालमै चर्को आलोचना भएको छ । ओली नेतृत्वकै नेकपासहितका राजनीतिक दलका नेता, कूटनीतिक मामिलाका जानकार र पत्रकारहरुले ओलीको अभिव्यक्तिको आलोचना गरिरहेका छन् ।

    पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले ओलीलाई ‘आधी–कवि’को संज्ञा दिँदै ओलीकृत कलीयुगीन नयाँ रामायण श्रवण गरौं ! सीधै वैकुण्ठधामको यात्रा गरौं ! भनेर व्यंग्य गर्नुभएको छ । ओलीका वचन र कर्मले सीमा नाघ्दैछन् भन्दै डा. भट्टराईले अब ओलीलाई छाडा छाडे खतरनाक हुने आशंका व्यक्त गर्नुभएको छ ।
    उहाँले सामाजिक सञ्जाल मार्फत ‘संसदमा ‘सिंहमेव जयते’ र बेसार–पुराणदेखि अयोध्या–पुराणसम्म आउँदा वहाँको चिन्तनप्रणाली स्वस्थ देखिन्न । संसद स्थगन गरेर अध्यादेश र संकटकालको ‘खड्ग’ समेत वहाँको हातमा छ ! अब वहाँलाई छाडा छोड्नु खतरनाक हुनेछ ! उपचार खोजौं ।’

    यस्तै राप्रपाका अध्यक्ष कमल थापाले पनि प्रधानमन्त्रीले उटपट्याङ कुरो गरेको टिप्पणी गर्नुभएको छ । भारतसँगको सम्बन्ध बिगार्न ओलीले अप्रमाणित कुरा गरेको थापाको आशंका छ । पूर्वपरराष्ट्रमन्त्रीसमेत रहनु भएका थापाले लेख्नुभएको छ, ‘प्रमको स्तरबाट यस्ता उटपट्यांग, अपुष्ट र अप्रमाणित कुरा आउनु सर्वथा उपयुक्त छैन ।

    भारतसँग सम्बन्ध सुधार्ने भन्दा बिगार्ने तर्फ प्रमको ध्यान गए जस्तो लाग्छ । नक्सा प्रकाशित गरेर अतिक्रमित भूमी फिर्ता ल्याउने प्रयास गर्न छाडेर दुई देशको सम्बन्धमा अनावश्यक विवाद सिर्जना गर्नु राम्रो होइन ।’

    नेकपाका विदेश विभाग उपप्रमुख विष्णु रिजाललेसमेत प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओलीको आलोचना गर्नुभएको छ । अप्रमाणित कुरा गरेर विद्वान भइन्छ भन्नु ठूलो भ्रम हुने बताउँदै रिजालले नेपाली भूमि फिर्ता ल्याउने बेलामा उत्तेजित अभिव्यक्ति दिनु रहस्यमय भएको बताउनुभएको छ ।

    रिजालले सामाजिक सञ्जाल ट्वीटरमा लख्नुभएको छ, ‘पदमा बसेर बेतुकका र असान्दर्भिक कुरा बोल्दा राष्ट्रकै शीर झुक्छ । अप्रमाणित, पौराणिक र विवादास्पद कुरा बोलेर विद्वान भइन्छ भन्नु ठूलो भ्रम हो । फुकीफुकी पाइला चालेर भूमि फिर्ता ल्याउनुपर्ने बेलामा विरोध र उत्तेजनाका लागि एकपछि अर्को मसला दिइनु दुर्भाग्यपूर्ण मात्र होइन, रहस्यमय छ ।’

    प्रधानमन्त्री ओलीका पूर्व प्रेस सल्लाहकार कुन्दन अर्यालले प्रधानमन्त्रीको पछिल्लो विवादास्पद अभिव्यक्तिलाई भारतीय टेलिभिजन च्यानलहरुसँग प्रतिस्पर्धा गरेको त होइन भनेर प्रश्न गर्नुभएको छ । उहाँले ट्वीटरमा, ‘यो के बोलेको ? भारतीय टेलिभिजन च्यानलहरुसँग प्रतिस्पर्धा गरेको ?’ भन्नुभएको छ ।

    कूटनीतिक मामिलाका जानकार रमेशनाथ पाण्डेले ओलीले उपहासपूर्ण बयान दिएको बताउदै ‘धर्म राजनीतिक र कूटनीतिभन्दा माथि छ । यो एक उच्च मावनात्मक मुद्दा हो । उपहासपूर्ण बयानले अप्ठ्यारो मात्र पार्छ । यदि अयोध्या वीरगञ्ज नजिक पर्छ भने सरयू नदी कहाँ छ ?’ भन्नुभएको छ ।


    मंगलवार, आषाढ ३० २०७७११:०४:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij