काठमाडौं । नेपालसहित विश्वभर आज प्रेम दिवस आर्थात् ‘भ्यालेन्टाइन डे’ मनाइएको छ । पछिल्लो समय नेपालमा पनि युवा युवतीले यसलाई विशेष चाडकै रुपमा मनाउने गरेका छन् ।
यो दिनलाई प्रेमी प्रेमिकाले एक अर्कालाई विभिन्न उपहार दिएर माया दर्शाउने तथा आफूलाई मन परेका व्यक्ति समक्ष प्रेम प्रस्ताव पनि राख्ने दिनका रुपमा लिने गरिन्छ ।
युवा युवतीहरु मात्र नभएर पछिल्लो समय चर्चित सेलेब्रिटी तथा विभिन्न राजनीतिक दलका नेताहरुले पनि यसलाई विभिन्न तरिकाले मनाउने गरेका पाइन्छ । आज परेको प्रेम दिवसलाई केही चर्चित नेपाली सेलिब्रेटीले बिषेश बनाएका छन्, भने प्रेमसम्बन्धि आफ्नो अनुभव र धारणा पनि बाँडेका छन् ।
प्रेम दिवसको शुभकामना दिँदै नायिका रेखा थापा ट्विटरमा लेख्नुहुन्छ, ‘प्रणय दिवसको शुभकामना ! प्रेमको शक्तिले हामी सबैलाई सभ्य, करुणामयी र उदार बनाउँदै जाओस् । डर, दासता र हिंसाबाट मुक्त हुँदै अरुलाई आफू जस्तै मानव देख्न सकौं ।’
यस्तै, नायिका दीपिका प्रसाईंले पनि श्रीमान् दिवाकर भट्टराईसँगको फोटो फेशबुकमा राख्दै प्रेम दिवसको शुभकामना दिनुभएको छ । भट्टराई चलचित्र निर्माता तथा निर्देशक हुनुहुन्छ ।
लोकगायक प्रकाश सपुतले श्रीमती बिन्दू बोहरासँग चितवनमा प्रेम दिवस मनाउनुभएको छ । सपुतले जोडी फोटो राख्नै ‘चितवन सौराहमा एक जोडी’ भन्दै लेख्नुभएको छ ।
कलाकारहरु मात्र नभइ राजनीतिक दलका नेताहरुले पनि प्रणय दिवसलाई विषेश रुपमै लिएको देखिन्छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा माधवकुमार नेपाल पक्षकी नेतृ रामकुमारी झाँक्रीले फेसबुकमा श्रीमान्सहित परिवारको फोटो राख्दै प्रेम दिवसको शुभकामना दिनुभएको छ । ‘ह्याप्पी भ्यालेन्टाइन्स् डे’ नेतृ झाँक्रीले लेख्नुभएको छ ।
यसैगरी, नेकपा ओली पक्षका नेता प्रदीप भट्टराईले पनि सामाजिक सञ्जालमा प्रणय दिवस मनाउने सबैलाई शुभकामना व्यक्त गर्नुभएको छ ।
ट्विटरमार्फत् शुभकामना दिँदै भट्टराई लेख्नुहुन्छ, ‘आज भ्यालेन्टाइन्स् डे मनाउने विदेशीलाई यसको शुभकामना !’
साथै, नेपाली कांग्रेसकी नेता डा. डिला संगौलाले पनि फेसबुकमा श्रीमान्सँगको फोटो राख्दै प्रेम दिवसको शुभकामना दिनुभएको छ ।
अहिले विश्वभर युवा युवतीले विशेष महत्वका साथ मनाउने भ्यालेन्टाइन्स् डे अर्थात प्रणय दिवसबारे विभिन्न किंम्बदन्ती रहेको पाइन्छ । यो पर्व पादरी सेन्ट भ्यालेन्टाइनको वलिदानसँग सम्बन्धित छ । तत्कालीन रोमन सम्राट क्लाउडियस द्वितीयले युवा प्रेम र विवाहतिर लागे सैनिक सेवा प्रभावित हुन्छन् भन्ने ठानेर यसलाई प्रतिबन्ध लगाएका थिए ।
तर, पादरी भ्यालेन्टाइन भने सम्राट्को निर्णयलाई धर्मविरुद्ध मान्थे । उनको बुझाइ थियो– ‘अनुशासनको दायराभित्र हुने प्रेम र आकर्षणमा ईश्वर पनि खुसी हुन्छन् ।’ त्यसैले उनले राजाज्ञा अवज्ञा गर्दै प्रेम र विवाहका लागि प्रेरित मात्र गरेनन् युवा युवतीका जोडीहरू तयार पारी सार्वजनिक स्थलमै सामूहिक विवाह कार्यक्रमसमेत सम्पन्न गराए ।
त्यसपछि निषेधाज्ञा तोडेको आरोपमा उनलाई इ.पू. २७० को फेब्रुअरी १४ मा मृत्युदण्ड दिइएको थियो । प्रेमका लागि प्राण उत्सर्ग गर्ने उनै पादरीको सम्झनामा भ्यालेन्टाइन डे मनाउन थालिएको हो । आज विश्वभर नै यस दिनलाई उत्सवको रूपमा मनाइएको छ ।