काठमाडौँ – पूर्व माओवादी पृष्ठभूमि भई हाल सत्तामा रहेको नेकपाका नेताहरुले जनयुद्ध र त्यसपछि शान्ति प्रक्रियाका क्रममा भएका कमजोरीलाई प्रचण्ड समूहमाथि हमला गर्ने अस्त्र बनाएका छन् । प्रचण्डको साथ छाडेर नेकपाको ओली समूहमा लागि मन्त्री समेत बनेका नेताहरुले जनयुद्ध र त्यसपछि शान्ति प्रक्रियामा भएका कमजोरी देखाएर प्रचण्डमाथि हमला गरिरहेका हुन् ।
यसरी प्रचण्डमाथि खनिने नेताहरुको सूचिमा मन्त्री टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभू शाह, मणि थापा लगायत अग्रपंक्तिमा छन् । आज बुटवलमा आयोजित पूर्व जनमुक्ति सेना नेपाल केन्द्रीय संयोजन समितिको राष्ट्रिय भेलामा पनि मन्त्रीद्वय भट्ट र रायमाझी प्रचण्डमाथि खनिनुभयो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री भट्टले प्रचण्डलाई लालगद्दारको संज्ञा दिनुभयो । सत्तामा पुगेपछि प्रचण्डले जनयुद्धका योद्दाहरुलाई बिर्सेको भट्टको आरोप छ ।
कार्यक्रममा नेकपा स्थायी कमिटि सदस्य तथा उर्जामन्त्री टोपबहादुर रायमाझीले प्रचण्डले बिर्सेका जनयुद्धका योद्धाहरुको यथोचित व्यवस्था अब प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने बताउनुभयो । आफूलाई जनयुद्धको नायक भन्नेहरुले शहीद, बेपत्ता पारिएका व्यक्ति, घाइते तथा अपांग भएका व्यक्तिका परिवारलाई पूर्ण रुपमा बेवास्ता गरेको आरोप उहाँको छ ।
आफूहरुले पटक–पटक आवाज उठाउँदा समेत प्रचण्डले त्यसबारे कुनै निर्णय लिन चासो नदिएको रायमाझीको आरोप छ । ३३ वर्ष पार्टीको नेतृत्व र दुई पटक प्रधानमन्त्री भएर देशको नेतृत्व गरेका प्रचण्डले जनयुद्ध लड्ने योद्धाहरुको कुनै माग सम्बोधन नगरेको भन्दै लडाकुको सम्मान पनि केपी ओलीले गर्ने अवस्था आएको रायमाझीले बताउनुभयो ।
मन्त्री रायमाझीले युद्धकालका अर्बौँ रकमको हिसाबकिताब गर्ने समय आएको पनि बताउनुभयो । लडाकुको नक्कली संख्या देखाएर १९ अर्ब रुपैयाँ हिनामिना भएको खुलासा गर्दै उहाँले वाइसिएलका लागि भनेर लिएको थप रकमको समेत प्रचण्डले हिसाब नदेखाएको दाबी गर्नुभयो । घाइते अपांग लडाकुहरुले उपचार नपाएको प्रसंग निकाल्दै रायमाझीले आफूहरुले प्रचण्डसँग त्यसबेलाका हिसाब माग्न बाँकी नै रहेको बताउनुभयो ।
नेकपा विभाजित भएपछि अहिले पूर्वजनमुक्ति सेनालाई विभिन्न प्रलोभनका साथ ओली समूहले आफूतिर आकर्षित गरिरहेको छ भने प्रचण्ड समूहले रोक्ने प्रयास गरिरहेको छ । केपी ओलीले मोटो बनाएर काट्नका लागि पूर्व जनमुक्ति सेनालाई खरिद गरिरहेको प्रचण्डको आरोप छ । मोटो बनाएर काटिनका लागि ओलीको प्रलोभनमा कसैले पनि फस्न नहुने प्रचण्डको भनाई छ ।
दश वर्षसम्म चलेको सशस्त्र विद्रोहमा १७ हजार भन्दा धेरै नेपालीको ज्यान गुम्यो । सयौँ हजारौँ मानिसहरु युद्धबाट प्रभावित बनेका छन् । अहिले उक्त युद्धको नेतृत्व गरेको माओवादी पार्टी छिन्न भिन्न छ भने शहीदका सपनाहरु अलपत्र अवस्थामा छन् । युद्ध सकिएको वर्षाैँपछि आज प्रचण्डलाई पूर्वजनमुक्ति सेनाको हालखबर बुझ्ने फुर्सद मिलेको भन्दै आलोचना भइरहेको छ ।