काठमाडौं । वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले नेकपा नेतृ रामकुमारी झाँक्रीको अभिव्यक्तिप्रति आकर्षित भएको भनिएको राज्यविरुद्धको कसूरको दफा ५८ प्रधानमन्त्री केपी शर्मा ओलीप्रति भने ठ्याक्कै आकृष्ट हुने बताउनुभएको छ ।
बिडारीले उक्त धारा झाँक्रीको सन्दर्भमा लागू नहुने बताउँदै ओलीलाई भने ठ्याक्कै आकृष्ट हुने बताउनुभएको छ ।
‘यो दफा त केपी जीलाई भने ठ्याक्कै आकृष्ट हुन्छ’, राष्ट्रिय सभा सदस्यसमेत रहेका बिडारीले सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘किनकि संविधानविपरीत काम गर्न दबाब दिएकोले । तर, झाँक्रीलाई लागू हुँदैन । ध्यान दिएर पढौँ त एकफेर ।’
हिजो प्रहरी टोली निवासमै पुगेर झाँक्रीलाई पक्राउ गरेको थियो । पक्राउ गर्न निवास शंखमूल पुगेको प्रहरी टोलीलाई झाँक्रीले पक्राउ पूर्जी आफूलाई थम्याउन भनेपछि हतार–हतार प्रक्राउ पूर्जी जारी गरेको अपराध अनुसन्धान महाशाखाले झाँक्रीलाई राज्यविरुद्धको कसूरको दफा ५८ आकर्षित भएकोले पक्राउ गर्नुपरेको उल्लेख गरेको थियो ।