काठमाडौँ – महिला हिंसा र प्रतिनिधिसभा विघटनको विरोधमा शुक्रबार काठमाडौँमा महिला मार्च भएको छ।
काठमाडौंको वसन्तपुरबाट सुरु भएको महिला मार्च रत्नपार्क हुँदै भद्रकालीबाट सिहंदरबारतर्फ अगाडि बढ्ने बताइएको थियो । तर, भद्रकालीमै प्रहरीले रोकेको हो । मार्चको क्रममा सरकारले महिला हिंसा रोक्न नसकेको भन्दै आक्रोश व्यक्त गरिएको छ ।
मार्चमा सहभागीले महिला हिंसा बन्द गर, बलात्कारीलाई सजाय दे, हत्यारा पहिचान गरेर कारबाही गर लेखिएका प्लेकार्ड बोकेका थिए । ‘प्रतिगमनविरुद्ध बृहत् नागरिक आन्दोलन’ समूहको ब्यानरमा महिला मार्च भएको हो ।
महिला मार्चमा सहभागीले हरेक दिन प्रतिगमन भएको भन्दै आक्रोश व्यक्त गरे । महिला मार्चसहितको विरोध प्रदर्शनमा विभिन्न राजनीतिक दलसँग आबद्ध महिला नेतृसँगै मानवअधिकार क्षेत्रमा क्रियाशिल महिलाहरुको सहभागीता थियो ।
कालो कपडा लगाएर मार्चमा सहभागी भएका महिलाहरुले सरकारले महिला हिंसा रोक्न नसकेको, बलात्कार र हत्याका घटनाहरु नरोकिएको भन्दै आक्रोश पोखेका छन्।
उनीहरुले प्रतिकात्मक रुपमा शवयात्रा गरेका छन् जसमा शंख बजाउँदै प्रतिगमनको विरोध गरिएको थियो।
सेतो धोती लगााई टाउकोमा पनि सेतो कपडा बेरेका केही युवाहरुले प्रतिकात्मक शवलाई बोकेर शव यात्रा गरेका थिए।
उनीहरुले बलात्कारपछि हत्या गरिएका कञ्चनपुरकी निर्मला पन्त, बैतडीकी भागरथी भट्ट लगायतलाई न्यायको माग गरेका छन्।