काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गर्न काठमाडौंको शंखमुलस्थित उनको निवासमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
पहिलो चरणमा सादा पोशाकमा प्रहरी परिचालन गरिएको थियो । तर अहिले फेरि त्यहाँ दंगा प्रहरी पुगेका छन्।
यसैबीच, झाँक्रीको निवासअगाडि अहिले नेकपा कार्यकर्ताले नाराबाजी गरिरहेका छन् । उनीहरुले ‘हाम्रो झाँक्री हाई हाई, केपी ओली बाइबाइ’लगायत लगाइरहेका छन् । उनीहरूले ‘प्रहरी दमन मुर्दावाद’जस्ता नारा पनि लगाइरहेका छन् ।
महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले राष्ट्रपति जस्तो सम्मानित संस्थाविरूद्ध अनर्गल प्रचार गर्ने काम गरेकाले झाँक्रीलाई सोधपुछका लागि बोलाइएको बताएका छन् ।
नेतृ झाँक्रीले एक साताअघि गोरखामा राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध विादास्पद अभिव्यक्ति दिएकी थिइन् ।
यसअघि झाँक्रीलाई प्रहरीले सोधपुछका लागि भन्दै प्रहरीले बोलाएको थियो । तर, उनी उपस्थित नभएपछि प्रहरीले पक्राउको तयारी गरेको बुझिएको छ ।