काठमाडौं । नेपाली फिल्म ‘लप्पन छप्पन–२’को नयाँ टिजर मंगलबार सार्वजनिक भएसँगै यसको रिलिज मिति पनि सार्वजनिक गरिएको छ ।
फिल्म ‘लप्पन छप्पन–२’ आगामी २७ चैतबाट रिलिज हुने भएको छ । निर्माण युनिटले एक पोष्टर सार्वजनिक गर्दै फिल्मको रिलिज बारे जानकारी दिएको हो ।
साथै, यो चलचित्र नेपालीसँगै हिन्दी, तमिल र भोजपुरी भाषामा पनि रिलिज हुन लागेको निर्माण टिमले हालै एक पोष्टर सार्वजनिक गर्दै जानकारी गराएको छ । चलचित्रको मुम्बईमा हिन्दी, तमिल र भोजपुरी भाषामा डब गरिने निर्देशक मुकुन्द भट्टले बताउनुभएको छ ।
सोमबार सार्वजनिक भएको फिल्मको टिजर २४ घण्टामै युट्युवको ट्रेन्डिङ २८ मा पर्न सफल भएको छ ।
यो समाचार तयार पार्दासम्म युट्यूवमा ८० हजारभन्दा बढीले हेरेका छन् भने ४ हजारभन्दा धेरैले लाइकसमेत गरेका छन् ।
नयाँ वर्षको अवसर पारेर प्रदर्शनमा आउन लागेको फिल्ममा सौगात मल्ल, अर्पण थापा, अनुपविक्रम शाही, शिव श्रेष्ठ, शक्ति श्रेष्ठ, प्रकाश कुँवर, दीपक क्षेत्री, सरिता गिरी, एञ्जल श्रेष्ठ, अनिल खनाल, राजेन्द्र विष्ट, केरोलिन कोलिन्डा, सुपर गुरुङ, आना ढकाल, सिर्जना सिना लगायतका कलाकारको अभिनय देख्न सकिन्छ ।
चलचित्र प्रेमकथा र एक्सनले भरिपूर्ण रहेको निर्माण पक्षले जनाएको छ । चलचित्रमा खिलेन्द्रराज तिमल्सिनाको प्रस्तुति रहेको छ भने पटकथा र संवाद निर्देशक भट्ट र सुनिल नेउरेले तयार पारेका हुन् ।
सुरज अधिकारी र प्रजापति सिवाकोटीको कार्यकारी निर्माण रहेको फिल्म गोल्डेन हिल्स पिक्चर्स, रोयल कुँवर इन्टरटेनमेन्ट, इपी एजुकेशन अस्ट्रेलिया, उमी ग्रुप युरोप र म्याक मिडियाको सहकार्यमा निर्माण भएको हो
चिजकुमार श्रेष्ठ, प्रकाश कुँवर, निर्मलकुमार मिश्र र सन्तोषचन्द्र भक्रेल निर्माता रहेको फिल्ममा पुरुषोत्तम प्रधानको छायाँकन र मिलन श्रेष्ठको सम्पादन रहेको छ ।
यसअघि ‘लप्पन छप्पन’ प्रदर्शनमा आएको भए पनि उक्त फिल्म व्यावसायिक रुपमा असफल भएको थियो ।