काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामा र उनकी पत्नी मिसेल ओबामाको प्रतिष्ठानले पहिलो सगरमाथा आरोही तेन्जिङ शेर्पाबारे चलचित्र बनाउने भएको छ । ओबामा दम्पतिको निर्माण कम्पनी ‘हायर ग्राउन्ड प्रोडक्सन्स’ले निर्माण गर्न लागेको चलचित्रको नाम ‘तेन्जिङ’ नै हुने बताइएको छ ।
निर्माण कम्पनीले नेटफ्लिक्सका लागि तीनवटा चलचित्र, दुईवटा टेलीभिजन (दूरदर्शन)धारावाहिक र एउटा वृतचित्र धारावाहिक निर्माण गर्न लागेका छ ।

तीनवटा चलचित्रमध्ये एउटा तेन्जिङबारे हुने नेटफ्लिक्सले हालै जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
नेपालका तेन्जिङ र न्युजिल्यान्डका आरोही एडमन्ड हिलारीले सन् १९५३ मे २९ मा पहिलो पटक सगरमाथाको सफल आरोहण गरेका थिए ।
सोलुखुम्बुको थाने गाउँमा सन् १९१४ मे २९ मा जन्मिएका तेन्जिङले ३९ वर्षको उमेरमा सगरमाथाको आरोहण गरेका हुन् ।