काठमाडौं । निर्वाचनको तयारी र आफ्नो पार्टी नेकपाभित्रको विवादलगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओली आज निर्वाचन आयोग पुग्नुभएको छ । आयोग पुगेर उहाँले आफ्नो समूहको नेकपा आधिकारिक पार्टी भएको दाबी गर्नुभएको छ ।
यसअघि, ओली समूहका महासचिव विष्णुप्रसाद पौडेल, स्थायी कमिटी सदस्य सुवास नेम्वाङलगायतका नेताहरु आयोगमा पुगिसकेका छन् ।
आयोगले यसअघि नेकपाका दुवै शीर्ष नेतालाई छलफलका लागि बोलाएको थियो तर, त्यहाँ शीर्ष नेताहरु ओली, पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल गएनन् । ओली र प्रचण्ड दुवै पक्षले आफ्ना प्रतिनिधि मात्रै पठाएका थिए ।
केही समयपछि पार्टीको आधिकारिकता दाबी गर्न नेकपाका प्रचण्ड र नेपाललगायतका नेताहरु आयोग पुगेका थिए ।
ओली जसरी पनि निर्वाचनमा जानुपर्ने पक्षमा हुनुहुन्छ । त्यसैले उहाँले आयोगले चुनावी कार्यक्रम अघि बढाउनुपर्ने धारणा राख्नुभएको स्रोतले जनाएको छ । त्यसै सन्दर्भमा ध्यानाकर्षण गराउन प्रधानमन्त्री ओली आयोग गएको बताइएको छ ।