काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा आज पनि सुनुवाइ जारी छ । सुनुवाइ क्रममा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले चुनावको वातावरण भए–नभएकोबारे प्रश्न गर्नुभएको छ ।
प्रतिनिधिसभा विघटनविरुद्धको रिटको सुनुवाइका क्रममा आज उहाँले इजलासमा यसबारे प्रश्न गर्नुभएको हो ।सरकारको तर्फबाट बहस गरेका अधिवक्ता श्यामकुमार भट्टराईले राजनीतिक शक्तिको असफलता भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले जनतामा जाने निर्णय गरेको बतानुभएको थियो ।
उहाँले प्रतिनिधिसभा विघटन राजनीतिक प्रश्न भएको जिकिर गर्दै सबै कुरा जनताले फैसला गर्ने भनेपछि प्रधानन्यायाधीश राणाले चुनावको वातावरण भए–नभएकोबारे प्रश्न गर्नुभयो ।
प्रधानन्यायाधीश राणाले प्रतिनिधिसभा विघटनविरुद्ध सडक प्रदर्शन भइरहेको प्रति संकेत गर्दै अहिले ‘चुनावको सम्भावना छ ?’ भन्ने प्रश्न गर्नुभयो ।
‘फ्लोरमा वातावरण हुनुपर्यो नि होइन ? अहिले जुन वातावरण छ, यस्तोमा चुनाव सम्भवना छ ?’ उहाँको प्रश्न थियो ।
जवाफमा भट्टराईले जनताले फैसला गर्ने हो कि श्रीमान् भन्दै चुनावको पक्षमा माहोल रहेको तर्क गर्नुभएको थियो ।
प्रधानमन्त्री ओलीले पुस ५ मा प्रतिनिधिसभा विघटन गरेसँगै निरन्तर सडक तातिरहेको बेला अदालतमा पनि यसबारे कुरा उठेको हो ।