काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाका दोषी पत्ता नलागेका बेला सुदूरपश्चिमको बैतडीमा फेरि उस्तै घटना दोहारिएपछि सिंगो मुलुक स्तब्ध र आन्दोलित बनेको छ ।
विद्यालयबाट घर फर्कने क्रममा १७ वर्षीया किशोरी भागरथी भट्टको विभत्स ढंगले हत्या गरिएको अवस्थामा जंगलको झाडीमा शव फेला परेको थियो । घटनास्थलको प्रकृति हेर्दा बलात्कारपछि हत्या गरिएको देखिए पनि शवको पोष्टमार्टम नभएका कारण त्यसको पुष्टि हुन बाँकी छ ।
तर डेढ महिनाअघि मात्रै श्रीमान् गुमाएकी आमा जवान छोरीको पनि बलात्कारपछि विभत्स हत्या भएको घटनाले भावविह्वल बन्नुभएको छ । यो घटनापछि बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीको सिंगो बस्ती मर्माहत छ । गाउँपालिकाका अध्यक्ष चक्रबहादुर कार्कीले घटनाको विरोध र दोषीमाथि कारबाहीको माग गर्दै स्थानीय बासिन्दा आन्दोलित रहेको बताउनुभयो ।
ढाई वर्षअघि निर्मला पन्तलाई न्याय माग्दै कञ्चनपुरबाट सुरु भएको आन्दोलन प्रदेश हुँदै सिंगो मुलुकमा फैलिएको थियो । अहिले भागरथी हत्या प्रकरणले पनि फेरि उस्तै आन्दोलनको रुपधारण गर्न थालेको छ । भागरथी हत्या प्रकरणको विरोधमा आज काठमाडौँमा विरोध प्रदर्शन भएको छ । प्रदर्शनकारीहरुले महिला हिंसा अन्त्यको माग गर्दै सरकारविरुद्ध नाराबाजी गरेका थिए ।
निर्मला हत्या प्रकरणको आन्दोलनले सिंगो मुलुक हल्लिए पनि उक्त घटनाका दोषी पत्ता लगाउन सरकार असक्षम बनेको छ । कुनै कुनै घटनाको अनुसन्धानका लागि वर्षाैँ समय पनि लाग्न सक्ने जवाफ दिएर राज्य संयन्त्र पन्छिने गरेको छ ।
के भागरथीको हत्या पनि निर्मला हत्या प्रकरणको एक अर्काे रुप मात्रै हुने छ ? कि दोषीलाई पक्राउ गरी कारबाही गर्न सरकार सक्षम हुनेछ ? लोकले सोधिरहेका यी प्रश्नले सरकारलाई वरिपरिबाट घेरेको छ । तर नेपाल प्रहरीका प्रवक्ता बसन्त बहाँदुर कुँवर भागरथी हत्या घटना निर्मला प्रकरण जस्तै नहोस् भन्नका लागि नेपाल प्रहरी सचेत रहेको बताउनुहुन्छ ।
प्रहरीले घटनाको अनुसन्धान जारी रहेको बताउँदै केही दिनमै दोषीलाई पक्राउ गरी सार्वजनिक गर्ने दाबी गरेको छ । तर सयौँ निर्मलाहरु बलात्कारपछि हत्याको शिकार हुँदा पनि दोषीलाई कारबाही गर्न नसकेको सरकारले भागरथीलाई न्याय दिनेमा आशंका गर्ने ठाउँ धेरै छन् ।
निर्मला पन्त जस्ता घटनाहरु हिजो पनि थिए र भोलि पनि रहीरहनेछन् भनेर सार्वजनिक भाषण गर्ने गृहमन्त्री भएको सरकारले भागरथीलाई कसरी न्याय दिनेछ, मुलुक प्रतिक्षा गरिरहेको छ ।