काठमाडौं । नेकपाको ओली समूहका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको आधिकारिताको टुङ्गो लागेको बताउनुभएको छ ।
नारायणहिटी दरबार संग्रहालय अगाडि भएको बृहत जनसभालाई सम्बोधन गर्दै ओलीले भन्नुभयो, ‘आजदेखि कुन पार्टी आधिकारिक भनिरहनु पर्दैन, अब यो सभा हेरि सकेपछि स्वतः आधिकारिकताको टुङ्गो लागिसक्यो ।’
आज दाहाल–नेपाल समूहले गरेको नेपाल बन्दका कारण आगलागी भएको ट्याक्सीको क्षतिपूर्ति सरकारले दिने प्रधानमन्त्री ओलीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘उहाँहरु हिंसा गर्नुहुन्छ, हामी जनताको साथमा छौं, त्यसैले क्षतिपूर्ति दिन्छौं ।’
साथै उहाँले आज भएको जनसभा इतिहासकै सबैभन्दा ठूलो सभा भएको बताउनुभयो । उहाँले अहिलेसम्म यति ठूलो जनसभा कहिल्यै नभएको बताउँदै साथका लागि सहभागी सबैलाई धन्यवाद दिनुभयो ।
सभालाई सम्बोधन गर्दै गृहमन्त्री रामबहादुर थापाले मांसाहारी आन्दोलन गर्नेलाई चिडियाखानामा लगेर राखिने चेतावनी दिनुभएको छ । ‘मांसाहारी आन्दोलन गर्नेलाई कानुनले अपराध घोषणा गरेको छ । त्यस्तो आन्दोलन गर्नेलाई चिडियाखानामा राखिने छ,’ उहाँले भन्नुभयो ।
ओलीपक्षले वाम शुद्धीकरण अभियान चलाएको समेत दाबी गर्नुभयो ।
उहाँले देश निर्वाचनमा होमिएको र आगामी निर्वाचन एउटा आन्दोलन भएको बताउनुभयो । यसले देशमा राजनीतिक स्थायित्व ल्याउने मन्त्री थापाको दाबी छ ।
यस्तै, उपप्रधानमन्त्री ईश्वर पोखरेलले जनताको निर्णय स्वीकार्न तयार भएको बताउनुभएको छ । उहाँले आफूहरु ताजा जनादेशमा जान चाहेको र जनताको निर्णय मान्य भएको बताउनुभयो ।
पोखरेलले सभामा प्रचण्ड–माधव नेपालले देशलाई असफल बनाउन कोसिस गरेको आरोपसमेत लगाउनुभएको छ । उहाँले प्रचण्ड–नेपाल पक्षले निर्वाचन आयोगलाई धम्की दिएको पनि बताउनुभयो ।पोखरेलले नेपाल बन्दको क्रममा हिजो आगलागी भएको ट्याक्सीको क्षतिपूर्ति सरकारले दिने पनि बताउनुभएको छ ।
यसैगरी, कार्यक्रमलाई सम्बोधन गर्दै ओली समूहका स्थायी कमिटी सदस्य सत्यनारायण मण्डलले ओली बुद्धको उत्तराधिकारी भएको दावी गर्नुभएको छ । ‘अहिले एक्साइसौं शताब्दीको देशमा बुद्धको उत्तराधिकारी जसले राष्ट्रियता, स्वाधीनता र समानताको प्रतीक रहनुभएका ओलीलाई सम्पूर्ण मधेस जनताकोसमर्थन छ’, उहाँले भन्नुभयो ।
नेकपाका अर्का समूहका नेताहरुले नै मुलुकमा कठिन परिस्थिति सिर्जना गरेको उहाँले आरोप लगाउनुभयो ।