काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपा वाग्मती प्रदेश सङ्गठन कमिटीका अध्यक्ष आनन्दप्रसाद पोखरेलले शुक्रबार आयोजना हुन लागेको जनसभाबाट हिन्दु राष्ट्र घोषणा गरिने भन्ने कुरा सरासर गलत भएको दावी गर्नुभएको छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै अध्यक्ष पोखरेलले भन्नुभयो,“आजको जनसभा निर्वाचन केन्द्रीत हो, तर केहि व्यक्तिहरुले आजको सभालाई राजनीतिक इगो लिएर प्रधानमन्त्रीले त हिन्दु राष्ट्र घोषणा गर्दै छन् भन्ने अनाधार अपवाह फैलाएका छन्, त्यो सरासर गलत हो ।”
बाहिर भएका प्रचारहरु सबै गलत भएको भन्दै हिन्दु राष्ट्र बनाउने पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले कल्पना समेत नगरेको उहाँले बताउनुभएको छ । उहाँले जनता तथा दलहरुलाई सडक आन्दोलन छोडेर निर्वाचनमा आउन पनि आग्रह गर्नुभएको छ ।
उहाँले भन्नुभयो,“मुलुकको विकासको गतिलाई अगाडी बढाउन अहिले निर्वाचन अति आवश्यक रहेको छ, त्यसैले यो बेला सडक आन्दोलन गर्ने होइन, निर्वाचनको तयारीमा जुट्नुपर्ने समय हो, त्यसैले जनता तथा राजनीतिक दलहरुलाई निर्वाचनको तयारीमा जुट्न अनुरोध गर्दछु ।”
राजनीति नबुझ्नेहरुले नारायणहिटी अगाडी सभा गर्न नहुने अध्यक्ष पोखरेलको तर्क छ । जनसभामा २ लाख भन्दा बढी मानिस सहभागी हुने उहाँले बताउनुभएको छ ।
जनसभामा पैसा तिरेर मानिसहरुलाई राजधानी ल्याइएको भन्ने कुरा पनि झुठो भएको अध्यक्ष पोखरेलले स्पष्ट पार्नुभएको छ । आफूहरुको संगठन ७७ वटै जिल्लामा भएकाले कसैलाई भाडामा नल्याएको उहाँको भनाइ छ ।