एजेन्सी । म्यानमारमा भएको सैन्य ‘कू’पछि संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को ‘आपतकालीन’ बैठक डाकिएको छ । आज बस्ने बैठकमा सैन्य कूपछिको म्यानमारको अवस्थाबारे छलफल गरी आवश्यक निर्णय लिने तयारी गरिएको बिबिसीले जनाएको छ ।
म्यानमारमा भएको पछिल्लो राजनीतिक घटनाक्रमलाई मध्यनजर गरेर सो विषय छलफलको पहिलो प्राथमिकतामा ल्याउनु सुरक्षा परिषद्का सदस्यहरु सहमत भएको संयुक्त राष्ट्रसंघमा बेलायती राजदूत बारबरा बुडवार्डले बताएकी छन् ।
यता अमेरिकी राष्ट्रपति जो बाइडनले म्यान्मारको सेनाले नेत्री आङ सान सुकीसहित अन्य नेतालाई गिरफ्तार गरेकोमा आपत्ति जनाउँदै त्यहाँको सेनाविरूद्ध आवश्यक कदम चालिने चेतावनी दिएका छन् ।
बाइडनले म्यानमारको सेनालाई तत्काल सत्ता छोड्न भनेका छन् । अन्यथा अमेरिकाले ‘उचित कदम’ चाल्ने चेतावनी दिएका छन् ।
यस्तै, संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले म्यानमारमा भएको सैन्य ‘कू’प्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । निर्वाचनमा भएको नतिजा स्वीकार गर्न उनले आग्रह गरेका छन् ।
बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले नेताहरूलाई रिहा गर्न आग्रह गरेका छन् ।