काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संवैधानिक परिषद्को बैठक स्थगित भएको छ । यसअघि आज साँझका लागि बोलाइएको बैठक सोरेर बुधबार साँझ ५ बजेका लागि बोलाइएको थियो । त्यो पनि स्थगित गरिएको बताइएको छ
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको असहमतिका कारण परिषद्को बैठक राख्ने प्रयास असफल भएको स्रोतले जनाएको छ ।
प्रधानमन्त्री ओलीद्वारा गत पुस ५ गते संसद् विघटन गरिएकै दिने संवैधानिक परिषद्ले विभिन्न ११ वटा संवैधानिक आयोगहरुमा ३८ जना पदाधिकारी नियुक्तिको सिफारिस गरेको थियो । सो सिफारिस संसदीय सुनुवाइका लागि संसद सचिवालयमा सोही दिन दर्ता भएको थियो । तर, सो पत्र सभामुख अग्नि सापकोटाले परिषद्मै फिर्ता पठाइदिएपछि प्रधानमन्त्री ओलीले संवैधानिक परिषद्को बैठक राख्ने प्रयास गर्नुभएको हो, जुन प्रयास सफल हुन सकेन ।
दुई दिनअघि मात्रै परिषद्को बैठकबाट संवैधानिक अंगहरुमा गरिएका नियुक्ति सिफारिस सभामुख सापकोटाले फिर्ता गरिदिनुभएको थियो ।
सरकारले अध्यादेश जारी गरी परिषद्का बहुमत सदस्यबाट निर्णय गर्न सक्ने व्यवस्था गरेको छ ।