काठमाडौं । सोमबार राति बख्तरबन्द गाडीबाट चक्रपथ परिक्रमा गरेको नेपाली सेनाले बुधबार पनि देशका बिभिन्न स्थानमा बख्तरबन्द गाडीको अभ्यास गर्ने भएको छ ।
सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलकाअनुसार देशभर रहेका ८ वटा पृतना अन्तर्गतका मेकनाइज्ड युनिटहरूबाट माघ २१ गते देशका विभिन्न स्थानहरुमा बख्तरबन्द गाडीहरुको अभ्यास गरिने छ ।
यसैक्रममा बुधबार बिहान ५ बजे काठमाडौंदेखि काभ्रेको पाँचखालसम्म बख्तरबन्द गाडीको अभ्यास हुने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । ट्राफिक व्यवस्थापनमा बाधा नपुगोस् भनेर यो समय रोजिएको नेपाली सेनाले जनाएको छ ।
सेनाको युद्ध कवच गणको अगुवाइमा यो अभ्यास गर्न लागिएको हो । नेपाली सेनाले लामो समयदेखि बख्तरबन्द गाडी सडकमा निकालेको थिएन । नेपाली सेनाका प्रवक्ता पौडेलले भने यसलाई नियमित अभ्यास भन्नुभएको छ ।