काठमाडौं । नागरिक समाजका अगुवा कृष्ण पहाडीले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिगमन बोकको र राष्ट्रपतिले त्यसलाई मलजल गरेको आरोप लगाउनुभएको छ ।
नेपालको राजनीति बिदेशी नीति तथा छिमेकीको इसारामा चल्न थालेको पहाडीले बताउनु भयो ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै पहाडीले भन्नुभयो “प्रधानमन्त्री १७ हातमाथि उफ्रेर सबैलाई गाली गर्दै हिड्नु भएको छ, उहाँले आफ्नो संयम गुमाईसक्नुभयो, अहिले अनावश्यक बहसमा देश चलीरहेको छ, प्रधानमन्त्री ओलीको शासनकालमै म २० पटक सम्म समातिएको छु ।”
दशेमा राजनीतिक दलहरु अराजक बन्दै गएको पहाडीको भनाई छ । उहाँले प्रतिनिधिसभा विघटन संविधानले अपेक्षा नगरेको बताउनुभयो । नेकपा अहिले दासहरुको झुण्ड भएको पहाडीले तर्क गर्नुभयो ।
उहाँले अनावश्यक रुपमा मान्छेलाई उत्तेजित बनाउने काम प्रधानमन्त्रीले गरेको आरोप समेत लगाउनुभएको छ ।उहाँले भन्नुभयो “प्रतिगमनको ठूलो मतियार भनेको प्रधानमन्त्री हो, उहाँ लोकतन्त्र विरोधी हो, प्रधानमन्त्रीले संविधानको हत्या गर्नुभयो, हामीले उहाँलाई भोट दिएको होइन, हामीले भोट दिएका सांसदले प्रधानमन्त्रीको चयन गरेका हुन्, अब जनतामा जान प्रधानमन्त्रीले सिकाइरहनु पर्दैन ।”
पहाडीले जनता शिर्ष नेताहरुसँग खुशी नभएको बताउँदै नेता हटाउ व्यवस्था बचाउ अभियानमा लाग्नु पर्ने औँल्याउनुभएको छ । यस अघि आफूहरुले प्रतिनिधि सभा विघटनको विरोध गर्दा सरकारले हस्तक्षेप गर्न खोजेको उहाँको भनाइ छ ।
फरक प्रसंगमा म्यानमारमा भएको ‘कु’ आङ साङ सुकीको कारणले भएको पहाडीको भनाई छ । सुकीले लोकतन्त्र ल्याउने काम नगरेको बताउनुभयो । ‘कु’ हुनु बैधता नभएको बताउँदै लोकतन्त्रको हत्या गर्नु निन्दनीय विषय भएको उहाँले बताउनुभयो । सुकीप्रति सत्ताको मोह भएकाले अहिलेको अबस्था सिर्जना भएको पहाडीले बताउनुभयो ।