काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध दायर १३ वटै रिटमाथि सरकारका तर्फबाट सोमबारदेखि बहस हुने भएको छ । प्रतिनिधिसभा विघटनविरुद्ध दायर १३ वटा रिट निवेदनमाथि सुनुवाइ भइरहेको संवैधानिक इजलासमा आज नवौंदेखि १२ औं रिटसम्मको बहस सकिएको छ ।
नवौं रिटमाथि रिट निवेदकसमेत रहेका अधिवक्ताहरु अमिता गौतम, कीर्तिनाथ शर्मा पौडेल र गोपाल दत्त पाण्डले आज बहस गरेका छन् । यस्तै, दशौं रिट निवेदक अधिवक्ता लोकेन्द्रबहादुर ओली, एघारौं रिटका निवेदक कलमबहादुर खत्री र बाह्रौं रिटका निवेदक मणिराम उपाध्यायले आज नै बहस सकेका छन् ।
बाह्रौं रिटमाथिको बहस सकेर खाजा समयका लागि ‘ब्रेक’ लिएपछि इजलासमा तेह्रौं रिट निवेदनमाथि बहस भइरहेको छ । तेह्रौं रिटमाथिको बहस आज नै सकिने भएको छ ।