काठमाडौं । निर्वाचन आयोगले दलदर्ताको प्रक्रिया अघि बढाउने तयारीमा जुटेको जनाएको छ । दल दर्ता र त्यसपछि उत्पन्न हुने दायित्व समयमै सम्पन्न हुन सकोस् भन्ने उद्देश्यले आफ्नो कार्य तालिकाअनुसार प्रकृया अगाडी बढाएको आयोगको भनाई छ ।
नेपाली रेडियो नेटर्वको नेपाली बहसमा निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले भन्नुभयो “मतदाता नामावली अद्यावधि गर्ने काम सञ्चालन भईरहेको छ, बजेट संकलन, निर्वाचनका अन्य प्रकृयाहरु पनि क्रमश पुरा हुदैँ गएका छन, तोकिएको समयमा निर्वाचन गर्न आयोगलाई कठिन छैन, निर्वाचनको लागी समय पनि प्रशस्तै छ, आफ्नो कार्यतालिका अनुसार आयोगले काम गरिरहेको छ ।”
श्रेष्ठले निर्वाचन समयमै सम्पन्न गर्नु राजनीतिक दलको पनि दायित्व भएको बताउँदै सबै राजनीतिक दलले आयोगलाई सहयोग गर्नेमा विश्वास समेत ब्यक्त गर्नु भयो ।
आयोगले नेकपाकोे विधान र राजनीतिक दल सम्वन्धी ऐनका आधारमा हेर्दा नेकपा अहिले सम्म नफूटेको बताएको छ । पार्टी दर्ताका लागी विधि प्रकृया पुर्याएर दल दर्ताको लागी राजनीतिक दलहरुलाई आह्वान समेत गरेको छ ।
नेकपाका दाहाल–नेपाल समूहले बैठकमा उपस्थित हुन नसक्ने बेहोरा जनाउँदै पत्र बुझाएकाले यसलाई बैठक बहिष्कार गरेको भन्न नमिल्ने आयोगको ठहर छ ।