काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना नगरेमा संसद्को बैठक बोलाएर केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट हटाउने बताउनुभर्एको छ । सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै उहाँले त्यस्तो तागत आफूहरुसँग भएको दावी गर्नुभएको हो ।
प्रचण्ड–माधव समूहले आयोजना गरेको कार्यक्रममा प्रचण्डले सर्वोच्चले प्रतिनिधिसभा पुनःस्थापना गरिदिने विश्वास व्यक्त गर्नुभयो । यदि, नभएमा सभामुखमार्फत प्रतिनिधिसभाको बैठक बोलाउने चेतावनीसमेत उहाँले दिनुभयो ।
‘सर्वोच्च अदालतले संविधानलाई राम्रोसँग बुझ्छ र संविधान हेरेर फैसला गर्छ भन्ने मलाई विश्वास छ । हामी सदन बोलाउँछौ, संसद बैठक बोलाएर ओलीलाई कारवाही गर्ने ताकत छ,’ प्रचण्डले भन्नुभयो, ‘ओलीको कदमलाई हामीसँगै कांग्रेस र जसपाले असंवैधानिक भनेका छन् । हामी संसद् बैठक बोलाएर संविधान र राष्ट्रघातको विरुद्ध कार्वाही गर्ने हैसियत राख्छौं ।’
आफ्नै बुद्धि र कर्मले ओलीले कलंकको टीका लगाएर पतनको बाटोमा हिँडिरहेको पनि आरोप लगाउनुभयो । ओलीले सेटिङ गरेर संसद् विघटन गरेको उहाँको भनाइ छ ।
प्रचण्डले यसअघि पनि अदालतको विषयमा टिप्पणी गर्दै आइरहनुभएको छ ।