काठमाडौं । नेकपाको प्रचण्ड–माधव समूहका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीसँग पार्टी फुटाउनका लागि चाहिने संख्या पनि नभएको बताउनुभएको छ ।
विराटनगरमा नेकपाले आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै उहाँले पार्टी फुटाउनका लागि केन्द्रीय कमिटीमा कम्तिमा ४० प्रतिशत मत चाहिने भएपनि ओलीसँग त्यो संख्या नै नभएको बताउनुभएको हो ।
४० प्रतिशत नभएका ओलीले आफूलाई आधिकारिक दावी गर्न नमिल्ने नेता खनालको भनाइ छ । बालुवाटारको भेला गुटको बैठक मात्र भएको उहाँले बताउनुभयो ।
यस्तै नेता योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटन गर्ने कदमले मुलुक गृहयुद्धतिर धकेलिन लागेको बताउनुभयो ।
विरोधसभालाई सम्बोधन गर्दै नेता भट्टराईले ओलीको कदमले मुलुक गृहयुद्ध र द्वन्द्वतिर धकेलिन लागेको बताउनुभयो ।आज केपी ओलीको कदमले मुलुकलाई गृहयुद्ध र द्वन्द्वतिर धकेल्न खोजिदैछ’ नेता भटराईको भनाई छ ।
उहाँले नेपालले कुनै गृहयुद्ध वा द्वन्द्व नसहने भन्दै शान्ति र अग्रगमनका लागि ओलीको कदमलाई घुडा टेकाउनुको विकल्प नभएको बताउनुभयो । उहाँले ओलीले घुडा टेक्ने दिन धेरै टाढा नरहेको पनि बताउनुभयो ।