Nov 06 2026 | २०८३, कार्तिक २१ गते

२०८३, कार्तिक २१ गते
  • यो साता चर्चामा :
images
शहीद दिवस

आज शहीद दिवस : शहीद उद्यान लैनचौरमा श्रद्धाञ्जलीसभा

आज शहीद दिवस : शहीद उद्यान लैनचौरमा श्रद्धाञ्जलीसभा

इतिहासविद् भन्छन् शहीदहरुको अवमूल्यन हुदैँ छ
  • शुक्रवार, माघ १६ २०७७

  • 1.1K
    SHARES

  • आज शहीद दिवस : शहीद उद्यान लैनचौरमा श्रद्धाञ्जलीसभा

    काठमाडौं ।  आज माघ १६ गते शहीद दिवस देशभर विभिन्न कार्यक्रम गरि मनाइदैं छ ।

    देश र जनताको अधिकारका लागि बलिदान गर्ने शहीदप्रति सम्मान गर्दै शुक्रबार देशभर शहीद दिवस मनाउन लागिएको हो । निरङ्कुश जहानियाँ राणा शासनविरूद्ध आफ्नो ज्यानको बलिदान गरेका वीर शहीदको स्मरणमा हरेक वर्ष माघ १० देखि १६ गतेसम्म ‘शहीद सप्ताह’ मनाइदैँ आइएको छ ।

    वीर शहीदहरुको स्मरणमा विक्रम संवत् २०१२ सालदेखि काठमाडौं महानगरपालिकाको संयोजनमा साताव्यापी रुपमा माघ १० देखि १६ गतेसम्म ‘शहीद सप्ताह’ मनाउने गरिएको छ । साताव्यापी कार्यक्रमको अन्तिम दिन आज शहीद उद्यान लैनचौरमा विशेष श्रद्धाञ्जलीसभा आयोजना गरिएको छ ।

    शान्तिवाटिकामा भेला भएर नेपाल प्रहरी र सशस्त्र प्रहरीको ब्यान्ड, मार्चपास र शहीदको तस्वीर राखिएको बग्गीसहितको प्रभातफेरी शहीद उद्यान लैनचौरमा पुगेर श्रद्धाञ्जलीसभामा परिणत हुने छ । सो सभामा प्रधानमन्त्री, मन्त्री, सरकारका उच्चपदस्थ अधिकारी जनप्रतिनिधि र सुरक्षा अंगका प्रमुखहरुको सहभागिता रहने छ ।

    सरकारले शहीद दिवस विशेष कार्यक्रमसहित मनाउने घोषणा गरे पनि सार्वजनिक विदा भने दिएको छैन । शहीद दिवसको अवसरमा विगतमा दिने गरिएको सार्वजनिक बिदा केन्द्र सरकारले कटौती गरेको छ ।

    नेपाली जनतालाई सार्वभौमसत्ता नागरिक बनाउन जहानियाँ राण शासन, निरङ्कुश पञ्चायती व्यवस्था तथा तानाशाही राजतन्त्रविरुद्ध प्रजातान्त्रिक क्रान्ति एवम् लोकतान्त्रिक जनआन्दोलनमा आफ्नो जीवनको आहूती गरेका वीरको सम्झनामा प्रत्येक वर्ष माघ १६ का दिन शहीद दिवस मनाउने गरिएको छ ।

    वीर शहीद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठको सङ्घर्षमय जीवन र बलिदानको गाथा र प्रजातान्त्रिक आन्दोलनका अरू योद्धाहरूको योगदानमा शहीद दिवस मनाइन्छ ।

    विक्रम संवत १९९७ माघ १० गते निरङ्कुश राणा शासनविरुद्धमा नेपाल प्रजापरिषद् स्थापना गरी नागरिकलाई आफ्नो हक र अधिकारका लागि क्रान्ति गर्न प्रेरित गर्ने शुक्रराजलाई टेकुको खरीको रूखमा झुन्ड्याइएको थियो ।

    त्यहीवर्ष माघ १३ गते सिफलमा धर्मभक्तलाई झुन्ड्याइएको थियो भने माघ १५ गते दशरथ चन्द र गङ्गालाललाई शोभा भगवतीमा गोली हानी हत्या गरिएको थियो ।

    दिवसको अवसरमा शुभकामना सन्देश दिदै राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिक स्वतन्त्रता, लोकतन्त्रको स्थापना र राष्ट्रियताको रक्षाका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने महान् शहीद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठलगायत सम्पूर्ण अमर शहीदप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै नेपाली जनतालाई स्वतन्त्र र सार्वभौमसत्तासम्पन्न नागरिक बनाउन इतिहासका विभिन्न कालखण्डमा निरङ्कुश र तानाशाही शासन व्यवस्थाविरूद्धका आन्दोलनमा आफ्नो जीवन बलिदान गर्ने वीरवीराङ्गनाप्रति सम्मान व्यक्त गर्नुभएको छ । शहीद दिवसले हामीहरुलाई शहीदले गरेको सर्वोच्च त्यागको स्मरण गराउने जनाउँदै राष्ट्रपतिले भन्नुभएको छ, ‘शहीदहरूको बलिदानद्वारा प्राप्त भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्नेतर्फ अग्रसर हुँदा नै शहीदप्रति सच्चा श्रद्धाञ्जलि हुने मैले विश्वास लिएको छु ।’

    यस्तै, दिवसको अवसरमा शुभकामना सन्देश दिदैँ प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई अधिकार सम्पन्न बनाई शहीदको बलिदानबाट प्राप्त लोकतान्त्रिक व्यवस्थालाई संस्थागत गरेको बताउनुभएको छ ।

    प्रधानमन्त्री ओलीले शहीदको बलिदानीपूर्ण सङ्घर्षको मार्गदर्शनबाट समृद्ध देश निर्माण गरी जनतालाई सुखी बनाउँदै राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने गन्तव्य सरकारले तय गरेकोसमेत उललेख गर्नुभयो ।

    यता, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले देश र लोकतन्त्रको हित रक्षाको निमित्त सबैले आफ्ना सानातिना मतभेदलाई बिर्सेर शहीदको सपनालाई विपनामा रुपान्तर गर्न संकल्प गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ ।

    शहीद दिवसको अवसरमा एक सन्देश जारी गर्दै उहाँले मुलुकले सुम्पिएको राष्ट्रिय जिम्मेवारी पूरा गर्न र नेपाललाई एक सुन्दर, शान्त र समुन्नत राष्ट्रमा परिणत गर्न जिम्मेवार सबै पक्षलाई शहीद दिवसले प्रेरणा प्रदान गर्नेछ भन्ने विश्वास व्यक्त गर्नुभएको हो । दिवसको अवसरमा अन्य विभिन्न राजनीतिक दलका नेताहरुले शुभकामना व्यक्त गरेका छन् ।

    यसैबिच, नेपाली रेडियो नेटर्वकको नेपाली बहसमा कुराकानी गर्दै इतिहासविद् रमेश ढुंगेलले अहिले देशमा शहीदहरुको अवमुल्यन भएको बताउनु भएको छ ।

    विभिन्न झै–झगडा र दुर्घटनामा ज्यान गुमाएका व्यक्तिलाई समेत शहीद घोषणा गर्नुपर्ने भन्दै शहीद शब्द पनि राजनीतिक स्वार्थमा गाँसिएकोमा उहाँले चिन्ता व्यक्त गर्नुभएको छ ।

    कुनैपनि घटनामा मारिएकाहरुलाई शहीद घोषणा गर्ने हावीले बास्तविक शहीदहरुको भावनामा चोट पुगेको उहाँले उल्लेख गर्नुभएको छ ।


    शुक्रवार, माघ १६ २०७७०८:५०:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij